रौतहट-३ बाट स्वतन्त्र उम्मेदवारी दिने पुनम यादवको घोषणा

रौतहट-३ बाट स्वतन्त्र उम्मेदवारी दिने पुनम यादवको घोषणा
अभिमनु पटेल अभिमनु पटेल २०८२ भाद्र २९, आईतवार २३:२९
रौतहट-३ बाट स्वतन्त्र उम्मेदवारी दिने पुनम यादवको घोषणा

रौतहट : रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा पुनम कुमारी यादवले संघीय सांसद पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

हालै जेन–जी पुस्ताको आन्दोलनपछि बनेको नयाँ राजनीतिक वातावरणले युवायुवतीलाई राजनीतिमा आकर्षित गरिरहेका बेला फतुवा विजयपुर नगरपालिका–फतुवा टोल निवासी सुरेन्द्र प्रसाद यादवकी छोरी पुनम यादवले अगामी फाल्गुन २१ गते हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

ADVERTISEMENT

राजनीतिक गतिविधिसँगै धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय पुनम लामो समयदेखि सनातन धर्म–संस्कृति जोगाउने अभियानमा क्रियाशील छिन्। उनले नेपाल, भारत मात्र नभई दुबईजस्ता मुस्लिम बहुल राष्ट्रसम्म बागेश्वरधामका धिरेन्द्र शास्त्रीलाई लिएर ठूलो हिन्दू सम्मेलन र प्रवचन कार्यक्रम आयोजना गरेर चर्चा कमाएकी थिइन्।

पुनमले क्षेत्र नं. ३ मा दुई दशकदेखि देखिएको ‘एकल शासन, भ्रष्टाचार, हिंसा र तानाशाही’ अन्त्य गर्ने अठोट व्यक्त गरिन्। उनले भनिन्, “जनताले एकपटक आफ्नी छोरी सम्झेर मलाई मत दिए भने प्रभु साहजस्ता नेताको अध्याय यहाँबाट अन्त्य गर्नेछु।”

उनले तत्कालीन सांसद तथा आजपा अध्यक्ष प्रभु साहमाथि विकासका नाममा मौलापुर नगरपालिका बाहेक अन्य क्षेत्रमा उपेक्षा गरेको आरोप लगाइन्। उनले भनिन्,
“२० वर्ष सत्तामा बसेर श्रीमतीलाई समेत दुई-दुई पटक मेयर बनाउने साहले मौलापुर बाहेक ठोस काम केही गरेको छैन। बजेट दुरुपयोग र लोकप्रियता खोज्न अश्लील गीतमा नाच देखाउनु बाहेक उसले जनतालाई धोका दिएको छ।”

यादवले साह परिवारमाथि गम्भीर आरोपसमेत लगाइन्। उनका अनुसार, “देशको सम्पत्ति लुट्ने प्रभु साहकै कान्छो छोराले सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाएको थियो भने ठूलो छोराले जनतालाई जेन–जी आन्दोलनको नाममा झुक्याउने काम गर्दैछ।”

पुनमले आफू “क्षेत्रको छोरी” भएको नाताले राजनीति प्रवेश गरेको बताउँदै मतदातालाई भावनात्मक अपिल गरिन्,
“म नेता होइन, तपाईंहरूको छोरी भएर मैदानमा उत्रिएकी हुँ। साथ दिनुभयो भने म रौतहट–३ मात्र होइन, पुरा जिल्लालाई राष्ट्रिय स्तरमा चिनाउने जिम्मा लिन्छु।”

उनको उम्मेदवारी घोषणासँगै रौतहटको राजनीतिक वृत्तमा चासो र चर्चा थपिएको छ। प्रभु साहको लामो वर्चस्व रहेको यस क्षेत्रमा युवती स्वतन्त्र उम्मेदवारको अवतरणले चुनावी समीकरण बदल्न सक्ने विश्लेषकहरूको आकलन छ।

यसअघि जेन–जी आन्दोलनले देशभर ठूलो प्रभाव पारेको थियो। सरकारी भवनदेखि नेताहरूका निवासमा आक्रमण हुँदा दर्जनौँ युवाको मृत्यु र सयौँ घाइते भएका थिए। सो आन्दोलनकै दबाबमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति र सेनाको समन्वयमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त भइ संघीय संसद विघटन भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ निर्वाचन मिति घोषणा गरेसँगै मुलुकभर चुनावी माहोल तातिरहेको छ। रौतहट–३ बाट पुनम यादवको उम्मेदवारीलाई यही नयाँ राजनीतिक परिवर्तन र युवा पुस्ताको आन्दोलनको प्रत्यक्ष उपजका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २९, आईतवार २३:२९
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !