जेनजी आन्दोलनमाथि भएको प्रहरी दमनप्रति विद्यार्थी जनमत संघको घोर आपत्ति

जेनजी आन्दोलनमाथि भएको प्रहरी दमनप्रति विद्यार्थी जनमत संघको घोर आपत्ति
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २३, सोमबार २२:११
जेनजी आन्दोलनमाथि भएको प्रहरी दमनप्रति विद्यार्थी जनमत संघको घोर आपत्ति

काठमाडौं : सरकारले महंगी, बेरोजगारी, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले देशभर गरिरहेको शान्तिपूर्ण आन्दोलनमाथि भएको प्रहरी दमनप्रति विद्यार्थी जनमत संघले घोर आपत्ति जनाएको छ ।

संघका अनुसार राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा हालसम्म २५६ जना विद्यार्थी, युवा आन्दोलनकारी तथा पत्रकार गम्भीर घाइते भएका छन् भने २२ जनाले ज्यान गुमाएका छन् ।

ADVERTISEMENT

विद्यार्थी जनमत संघका केन्द्रीय अध्यक्ष पोषण यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै तत्काल निःशुल्क उपचारको सम्पूर्ण व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

विज्ञप्तिमा लामो समयदेखि मुलुकमा बढ्दै गएको गरिबी, बेरोजगारी, कुशासन र भ्रष्टाचारकै कारण आम नागरिक आक्रोशित भएको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनमाथि दमन बन्द गर्न सरकारलाई चेतावनी दिइएको छ । साथै, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउन, आन्दोलनरत पक्षसँग वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ ।

यसैबीच, यही भाद्र २४ गते माइतिघर मण्डलामा “विद्यार्थीमैत्री शिक्षा ऐन” को मागसहित आयोजना गर्न लागिएको विद्यार्थी प्रदर्शन कार्यक्रम हाललाई स्थगित गरिएको संघले जनाएको छ ।

प्रकाशित मिति: २०८२ भाद्र २३, सोमबार २२:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !