अब फरक खालको विद्रोह सुरु गर्छौं : राजेन्द्र महतो

अब फरक खालको विद्रोह सुरु गर्छौं : राजेन्द्र महतो
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १५, आईतवार १६:०२
अब फरक खालको विद्रोह सुरु गर्छौं : राजेन्द्र महतो

काठमाडौं : पटक–पटक मन्त्री भइसकेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘फरक खालको विद्रोह’ सुरु गर्ने बताएका छन्। झन्डै ३५ वर्षदेखि विभिन्न दलमार्फत सक्रिय राजनीतिमा रहेका ६७ वर्षीय महतो अबको आन्दोलन शान्तिपूर्ण तर निर्णायक हुने दाबी गर्छन्।

“अब हाम्रो अभियान भनेको फरक खालको विद्रोह हो,” उनले बाह्रखरीसँग भने, “तपाईं अहिले नै बुझ्न सक्नुहुन्न हामी कस्तो आन्दोलन गर्छौं भनेर। तर आन्दोलन सुरु भएपछि मात्रै तपाईंलाई थाहा हुन्छ। सरकारलाई माग सम्बोधन गर्न बाध्य हुने गरी हामी शान्तिपूर्ण आन्दोलनमा उत्रनेछौं।”

ADVERTISEMENT

महतो २०४७ सालमा नेपाल सद्भावना पार्टीमार्फत राजनीतिमा प्रवेश गरेका हुन्। २०५६, २०६४, २०६५ र २०७४ मा सांसद बनेका उनले पटक–पटक मन्त्रीसमेत भइसकेका छन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न जिम्मेवारी सम्हालेका थिए।

पूर्व लोसपा नेता महतोले अध्यक्ष महन्थ ठाकुरको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अलग्गिएर राष्ट्रिय मुक्ति पार्टी गठन गरेका हुन्। निर्वाचन आयोगमा दर्ता गराएको उक्त दलमार्फत उनले पहिचान पक्षधर, संघ–संस्था र जातीय संगठनहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताए।

“हामीलाई सधैं ठूला दलहरूले हेप्दै आए,” उनले भने, “सत्ता लालसाले मधेशी दलहरू छिन्नभिन्न भए, तर अब मेरो बाटो फरक छ। पछाडि पारिएका, अधिकारबाट वञ्चित र पहिचान बनाउन नसकेका समुदायलाई समेटेर आवाज बुलन्द पार्ने मेरो उद्देश्य हो।”

मधेसी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका महतो सद्भावना पार्टी विभाजनपछि आफ्नै समूह बनाउँदै आएका थिए। पछि राजपा नेपाल, संघीय समाजवादी फोरम र लोसपासम्म उनको राजनीतिक यात्रा पुगेको हो।

नयाँ पार्टीमार्फत उनले उत्पीडित समुदायलाई एकताबद्ध गरी बहुल–राष्ट्रिय राज्य निर्माण गर्ने एजेन्डा अघि सारेका छन्। हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सामाजिक, आर्थिक र सांस्कृतिक पुनःस्थापनाको लहर चलाई सहकारी अर्थतन्त्र प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्ने र २०८२ मा राष्ट्रव्यापी जनआन्दोलन सुरु गर्ने निर्णयसमेत गरेको छ।

यसैअनुसार पार्टीले भदौ ८ देखि असोज २२ गतेसम्म स्वदेशवाद, बहुल राष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशन सिद्धान्तअनुसार संगठन विस्तार अभियान सञ्चालन गर्दै छ।

प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार १६:०२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !