कमला बाँध तस्करको ‘सेफ वे’ : प्रहरीकै आँखा अगाडि निर्बाध तस्करी

कमला बाँध तस्करको ‘सेफ वे’ : प्रहरीकै आँखा अगाडि निर्बाध तस्करी
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १२, बिहीबार ०८:२४
कमला बाँध तस्करको ‘सेफ वे’ : प्रहरीकै आँखा अगाडि निर्बाध तस्करी

जनकपुरधाम : पछिल्लो समय धनुषा र सिरहालाई जोड्ने कमला नदीको बाँध तस्करीका लागि सुरक्षित मार्ग (‘सेफ वे’) को रूपमा प्रयोग हुँदै आएको छ । बिहारको मधुबनी जिल्लाको जयनगरतर्फबाट सामान बोकेर आउने सयौं मोटरसाइकल र साइकल यही बाटो हुँदै नेपाल पस्ने गरेका छन् ।

गत सोमबार बिहान १०ः१३, १०ः१४, १०ः२० र १०ः३७ बजे खिचिएका तस्वीरहरूले यसको प्रमाण स्पष्ट देखाउँछन् । तस्वीरमा एउटा साइकल र तीनवटा मोटरसाइकलमा भारी सामान बोकेर इनर्वा बोर्डर हुँदै नेपालतर्फ ल्याइरहेको देखिन्छ । यी सामान कुनै पनि नियमसंगत भित्र्याइएको नभई तस्करीमार्फत ल्याइएको हो भन्नेमा शंका छैन ।

ADVERTISEMENT

स्थानीय स्रोतका अनुसार, दिनहुँ सयौं मोटरसाइकल र साइकल यही बाटो प्रयोग गरेर तस्करीमा संलग्न हुन्छन् । प्रहरीले निगरानी गरिरहेको भए पनि उनीहरूकै आँखा अगाडि निर्बाध रूपमा सामान ओसारपसार भइरहेको छ ।

कमला बाँध क्षेत्रमा नेपाल प्रहरी र सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल खटाइए पनि उनीहरूको संलग्नताकै कारण तस्करी सजिलो बनेको आरोप छ । स्थानीयवासीका भनाइमा, प्रहरीलाई महिनावारी असुली बुझाएर तस्करहरूले बाटो पाउने गरेका छन् । प्रहरीको तल्लोदेखि माथिल्लो तहसम्म मासिक लाखौँ रुपैयाँ पुग्ने गरेको स्रोतले जनाएको छ ।

यो बाटो प्रयोग गरी भारतीय वस्तुहरू नेपालतर्फ भित्रिन्छन् भने, उल्टै नेपालतर्फबाट बिहारमा प्रतिबन्धित मदिरा निर्वाध रूपमा पठाइन्छ । यसरी कमला बाँध दुईतर्फी अवैध व्यापारको प्रमुख ‘हटस्पट’ बनेको छ ।

कमला बाँध मात्र होइन, दुहबी, महिनाथपुर, तिनकौरिया, हरलाखी लगायतका स्थान पनि तस्करीका प्रमुख केन्द्रका रूपमा परिचित छन् । यस्ता स्थानहरूमा समेत प्रहरीको मौन सहमति वा सक्रिय संलग्नता रहेको स्थानीयहरूले आरोप लगाउँदै आएका छन् ।

स्थानीयवासीले तस्करी नियन्त्रणमा राज्य संवेदनशील नबने जनशक्ति, अर्थतन्त्र र सुरक्षामै ठूलो असर पर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: २०८२ भाद्र १२, बिहीबार ०८:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !