कोठामा थुनेर शिक्षक कुटपिट गर्ने माओवादी वडाध्यक्ष कुशवाहा थुनामा

कोठामा थुनेर शिक्षक कुटपिट गर्ने माओवादी वडाध्यक्ष कुशवाहा थुनामा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १०, मंगलवार १४:२८
कोठामा थुनेर शिक्षक कुटपिट गर्ने माओवादी वडाध्यक्ष कुशवाहा थुनामा

वीरगन्ज : बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा शिक्षकलाई कोठामा थुनेर कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा परेका छन्।

शिक्षक नागेश्वर यादवलाई वडा कार्यालयमै बन्धक बनाएर मदिरा सेवन गराई अर्धनग्न अवस्थामा निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि वडाध्यक्षमाथि चर्को आलोचना भएको छ। पीडित यादवको जाहेरीका आधारमा प्रहरीले कुशवाहालाई भदौ २ गते नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजय राज पण्डितका अनुसार, वडाध्यक्षमाथि अमानवीय व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।

माओवादी केन्द्रबाट २०७९ सालमा निर्वाचित कुशवाहा पार्टीको पूर्व जिल्ला सदस्य समेत हुन्। घटनापछि पार्टीका मधेश इन्चार्ज मातृका यादवले उनलाई ६ महिनाका लागि निलम्बन गरेका छन्। तर स्थानीय तहका संरचनाले उनको पार्टी सदस्यता नै खारेज गर्न माग गर्दै प्रदेश समितिलाई पत्र लेखेका छन्।

कुशवाहाको आपराधिक इतिहास नयाँ नभएको प्रहरीले जनाएको छ। यसअघि पनि उनी चेक अनादर, कुटपिटलगायतका विभिन्न मुद्दामा पक्राउ परेका थिए। जेठ ११ मा पनि बारा जिल्ला अदालतको आदेशअनुसार प्रहरीले उनलाई पक्राउ गरी पेश गरेको थियो।

स्थानीयवासीले पटक–पटक कानुनको दायरामा आउने व्यक्तिले जनप्रतिनिधि पदमा रहेर जनताको विश्वास तोडेको भन्दै कठोर कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार १४:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !