राष्ट्रिय सभा बैठकमा दुई प्रतिवेदन पेस

राष्ट्रिय सभा बैठकमा दुई प्रतिवेदन पेस
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १७:४८
राष्ट्रिय सभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौँ : राष्ट्रिय सभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको छ ।

सभाको आजको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिएको हो ।

ADVERTISEMENT

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दहालले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ सभासमक्ष पेस गरेका थिए ।

उक्त प्रतिवेदन पेस गर्दै उनले विधेयकका कुल आठ वटा दफामा प्रतिवेदनले ६ वटा दफामा संशोधन गरी विधेयकलाई थप परिमार्जन गरेको सभालाई जानकारी दिए। यस विधेयक उपर ३६ सांसदले ३५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

सभापति दाहालले यस विधेयकले मूलतः संविधानमा व्यवस्था भएबमोजिम बाबुको पहिचान नभएकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने उद्देश्य लिएको उल्लेख गरे। विधेयकले आमा र बाबुमध्ये कुनै एकको नाम, थर, ठेगाना नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख गर्न नचाहने व्यक्तिलाई त्यस्तो विवरण उल्लेख नगरी नेपाली नागरिकता प्रदान गर्ने उद्देश्य लिएको छ ।

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरेका थिए ।

उनले यस प्रतिवेदनले विकास र संरक्षणका क्षेत्रमा देखिएका फरक धारणालाई साँघुरो पारी संरक्षणसहितको विकासलाई अघि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १७:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !