चुरे संरक्षण अभियान : झोवाई खोल्सी सामुदायिक वनमा स्थानीयबाट वृक्षरोपण सुरु

चुरे संरक्षण अभियान : झोवाई खोल्सी सामुदायिक वनमा स्थानीयबाट वृक्षरोपण सुरु
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २, सोमबार १४:१५
चुरे संरक्षण अभियान : झोवाई खोल्सी सामुदायिक वनमा स्थानीयबाट वृक्षरोपण सुरु

सिरहा : सिरहाको लहान नगरपालिका–१५ स्थित चुरे क्षेत्रभित्र पर्ने झोवाई खोल्सी सामुदायिक वनमा स्थानीयको सहकार्यमा झाडी फाडेर वृक्षरोपण अभियान सुरु गरिएको छ।

वातावरणीय संरक्षण, जैविक विविधता विस्तार र वन उपज वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले चुरे क्षेत्रको हरियाली फिर्ता ल्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले वनभित्र खाली जग्गामा पहिल्यै रोपिएका बिरुवाको गोडमेलसँगै नयाँ बिरुवा रोप्ने काम तीव्र गतिमा भइरहेको जानकारी दिए।

उनका अनुसार डिभिजन वन कार्यालय सिरहाको प्राविधिक सहयोगमा स्थानीय उपभोक्ता समिति वृक्षरोपण र संरक्षणमा सक्रिय छ।

“अहिलेसम्म करिब ४–५ प्रतिशत क्षेत्रमा पहिल्यै रोपिएका बिरुवाको संरक्षण र थप बिरुवा रोप्ने कार्य भइरहेको छ,” चौधरीले बताए। उनका अनुसार सिसौ, जामुन, खयर, पाँचपाते, अमला र मसला प्रजातीका बिरुवा रोपिएका छन्।

कुल २७७ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका खाली भूमिमा हजारौँ बिरुवा रोपिएको उनले जानकारी दिए। सडक विस्तारका क्रममा नष्ट भएका रुखका विकल्प स्वरुपसमेत यहाँ वृक्षरोपण गरिएको छ।

यसैबीच चीनाले निर्माण गरिरहेको कञ्चनपुर–कमला सडक विस्तारका कारण मासिएका रुखका क्षतिपूर्तिस्वरूप करिब ३८ हजार बिरुवा सामुदायिक वनमा रोपिएको छ।

सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी सरोज कोइरालाले “एउटा रूख हटाउँदा त्यसको सट्टामा २५ वटा बिरुवा रोप्नुपर्ने नियमअनुसार यो गरिएको हो, हामीले खर्च मात्रै गरेर बिरुवा कहाँ रोप्ने भन्ने काम वन कार्यालयको हो,” बताए।

डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र नागरिक समाजको सहकार्यमा चुरे क्षेत्रको हरियालीकरणलाई दीगो रूपमा अघि बढाउने लक्ष्य रहेको बताए।

उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै डिभिजन वन कार्यालयमार्फत करिब १० लाख बिरुवा रोपिएको छ, जुन चुरे संरक्षणतर्फको ऐतिहासिक प्रयासका रूपमा लिइएको छ।

उनले माटो कटान, भूक्षय र पानी अभावको समस्या समाधानमा वृक्षरोपण महत्त्वपूर्ण रहेको उल्लेख गर्दै रोपिएका बिरुवा बचाएर वनलाई दीगो रूपमा हरियाली बनाउने अभियानलाई अझ प्रभावकारी बनाइने बताए।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार १४:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !