संघीयतापछि मधेशमा उल्लेख्य विकास भएको मुख्यमन्त्री सिंहको दाबी

संघीयतापछि मधेशमा उल्लेख्य विकास भएको मुख्यमन्त्री सिंहको दाबी
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २३, शुक्रबार २०:४०
संघीयतापछि मधेशमा उल्लेख्य विकास भएको मुख्यमन्त्री सिंहको दाबी

सप्तरी : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता लागू भएको सात वर्षमा मधेशमा पूर्वाधार विकासका क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन्।

शुक्रबार सप्तरीको दक्षिणी विकट क्षेत्र बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिकालाई जोड्ने बैरयाही–कोदरकट्टी पुल उद्घाटन गर्दै उनले संघीयता अघिसम्म दुर्गम बस्तीतर्फको सडक अवस्था अत्यन्तै कमजोर रहेको स्मरण गरे।

ADVERTISEMENT

“पहिले यहाँको सडक र पुलको अवस्था दयनीय थियो, अहिले भने कालोपत्रे सडक र पुल निर्माण तीव्र गतिमा भइरहेको छ,” सिंहले भने।

तर, विकासका सूचकमा मधेश अझै पछि परेको उनले स्वीकार गरे। संघीय सरकारबाट बजेटमा हुने कंजुस्याइँ र संविधानअनुसार कानुन निर्माणमा भइरहेको ढिलाइका कारण प्रदेश सरकार चुनौतीमा परेको उनको भनाइ थियो।

सो अवसरमा भौतिक पूर्वाधार मन्त्री सरोज यादवले मधेशमा सडकसहितका पूर्वाधार विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए।

पूर्वाधार विकास कार्यालय सप्तरीको आयोजनामा करिब ११ करोड रुपैयाँ लागतमा बिहुल नदीमा बनेको उक्त पुल सञ्चालनमा आएपछि सर्वसाधारणदेखि सबै प्रकारका सवारीसाधनको आवागमन सहज हुने भएको छ। तर, पुल बने पनि सडक कालोपत्रे नहुँदा यातायातमा असुविधा भइरहेको स्थानीयवासीहरूले गुनासो गरे।

उक्त दिन मुख्यमन्त्री सिंहसहितको टोलीले प्रदेश सरकारकै बजेटमा सम्पन्न शक्तिपीठ छिन्नमस्ता मन्दिर क्षेत्रको सौन्दर्यकरण कार्यको स्थलगत अवलोकन समेत गरेको थियो।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार २०:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !