भक्तिमय रंगमा रंगियो मिथिलाबिहारी मन्दिर

भक्तिमय रंगमा रंगियो मिथिलाबिहारी मन्दिर
राधेश्याम राउत राधेश्याम राउत २०८२ श्रावण २२, बिहीबार २२:१८
भक्तिमय रंगमा रंगियो मिथिलाबिहारी मन्दिर

जनकपुरधाम : श्रावणको आगमनसँगै जनकपुरधामको ऐतिहासिक मिथिलाबिहारी मन्दिरमा झुला पूजा धूमधामका साथ सुरु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–१ स्थित पुलचोकमा रहेको यो मन्दिरमा प्रत्येक वर्ष झैं यसपालि पनि झुला पूजा विशेष तयारीका साथ मनाइएको हो।

मन्दिरका अध्यक्ष राधाकृष्ण साह (किसन) का अनुसार, हरेक वर्ष श्रावण महिनाको अवसर पारेर झुला पूजा आयोजना गरिँदै आएको छ। यो वर्ष पनि मन्दिर परिसरमा विशेष सजावटसहित धार्मिक कार्यक्रम सञ्चालन गरिएको छ। “श्रावण महिना भगवान श्रीकृष्णको प्रिय महिना मानिन्छ,” अध्यक्ष साहले भने, “यस अवसरमा मन्दिरमा झुला झुलाइँदै पूजाआजा गरिन्छ।”

ADVERTISEMENT

मन्दिरमा राधाकृष्णको मूर्तिलाई फूलमालाले सजाइएकाले झुलामा राखिएको छ। रंगीचंगी बत्ती, पारम्परिक झाँकी र भक्तिमय संगीतले पूजाको आकर्षण थपिएको छ। पूजामा स्थानीय बासिन्दा मात्र होइन, जनकपुर बाहिरबाट समेत उल्लेखनीय संख्यामा भक्तजनको उपस्थिति देखिएको छ।

श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेर पूजाआजा र दर्शन गरिरहेका छन्। पूजाका क्रममा भजन–कीर्तन, विशेष पूजा तथा प्रसाद वितरणको व्यवस्था गरिएको छ। मन्दिर परिसर भक्तिमय वातावरणले भरिएको छ।

“झुला पूजा अब केही दिनसम्म चल्नेछ,” अध्यक्ष साहले बताए, “श्रावण महिनाभर दैनिक भजन–कीर्तन, पूजाआजा र विशेष कार्यक्रम हुनेछन्।”

कार्यक्रमलाई सफल बनाउन मन्दिर व्यवस्थापन समिति, स्थानीय स्वयंसेवक र युवा समूहको सक्रिय सहभागिता रहेको छ। पूजाले धार्मिक आस्थासँगै सामाजिक एकता र सांस्कृतिक पहिचानलाई पनि उजागर गरेको स्थानीयवासीहरू बताउँछन्।

श्रावण महिनामा जनकपुरधाम धार्मिक पर्यटनको गन्तव्य बन्ने गर्छ। मिथिलाबिहारी मन्दिरको झुला पूजाले मिथिला क्षेत्रको सांस्कृतिक जीवनशैली झल्काउने विश्वास स्थानीय धार्मिक अगुवाहरूको छ।

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार २२:१८
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !