राजविराजमा प्रहरीको गोली लागी एक जनाको मृत्यु, आक्रोशित स्थानीयको प्रदर्शन

राजविराजमा प्रहरीको गोली लागी एक जनाको मृत्यु, आक्रोशित स्थानीयको प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २१, बुधबार ११:२९
राजविराजमा प्रहरीको गोली लागी एक जनाको मृत्यु, आक्रोशित स्थानीयको प्रदर्शन

राजविराज : सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीविरुद्ध आक्रोशित प्रदर्शन सुरु भएको छ।

मृतकका आफन्त तथा गाउँलेहरूले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बाल्दै प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गराउँदै प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।

ADVERTISEMENT

घटना मध्यराततिर भएको हो। भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाको आधारमा गएको प्रहरी टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। आत्मरक्षा स्वरूप प्रहरीले चलाएको गोली लागेर स्थानीय लालु यादव गम्भीर घाइते भएका थिए।

अन्दाजी ३७ वर्षीय यादवलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घटनापछि राजविराजमा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। स्थानीय प्रशासनले घटनाबारे छानबिन सुरु गरेको जनाएको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण २१, बुधबार ११:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !