उपप्रमुखलाई धम्की दिएको आरोप निराधार रहेको प्रमुख प्रशासकीय अधिकृत झाको दाबी

उपप्रमुखलाई धम्की दिएको आरोप निराधार रहेको प्रमुख प्रशासकीय अधिकृत झाको दाबी
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ श्रावण १५, बिहीबार २०:१७
उपप्रमुखलाई धम्की दिएको आरोप निराधार रहेको प्रमुख प्रशासकीय अधिकृत झाको दाबी

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित कुमार झाले उपप्रमुख दुर्गीदेवी मण्डललाई धम्की दिएको आरोप असत्य र भ्रामक भएको दाबी गरेका छन्।

मधेशपत्रसँगको कुराकानीमा उनले आफूले पद सम्हालेको दिनदेखि अहिलेसम्म कुनै विवादमा नपरेको दाबी गर्दै भने, ‘म जुन दिनदेखि यो जिम्मेवारीमा आएँ, त्यस दिनदेखि नियमअनुसार र विवादरहित रूपमा काम गरिरहेको छु। उपप्रमुखलाई धम्की दिएको भन्ने कुरा मैले पनि मधेशपत्रको समाचारमार्फत मात्र थाहा पाएँ।’

ADVERTISEMENT

प्रमुख प्रशासकीय अधिकृत झाले उपप्रमुख मण्डललाई सेवासुविधा रोक्का गर्ने धम्की दिएको आरोप लागेको छ। स्रोतका अनुसार, राजस्व परामर्श समितिको बैठकमा उपप्रमुख मण्डलले हस्ताक्षर गर्न अस्वीकार गरेपछि झाले आक्रोशपूर्ण भाषा प्रयोग गरेका थिए।

तर झाले उक्त दाबी अस्वीकार गर्दै भने, ‘त्यो पूर्णतः तथ्यहीन र निराधार आरोप हो। मैले न उपप्रमुखलाई धम्क्याएको छु, न कुनै अनुचित व्यवहार गरेको छु।’

उनले नगरपालिका कार्यालयका सम्पूर्ण राजस्व विवरण पारदर्शी रहेको जिकिर गरे। ‘पोखरी र एम्बुलेन्सलगायतको आम्दानी सार्वजनिक रूपमै प्रस्तुत गरिएको छ। जोसुकैले राजस्व शाखामा गएर विवरण बुझ्न सक्छ,’ उनले भने।

प्रमुख प्रशासकीय अधिकृत झाले यस्ता आरोपले व्यक्तिगत छविसँगै संस्थागत प्रतिष्ठामा समेत आँच पुग्ने बताए। ‘म विधिपूर्वक, पारदर्शी र उत्तरदायी ढंगले काम गर्न प्रतिबद्ध छु,’ उनले भने, ‘आधारविहीन प्रचारले स्थानीय शासनमा भ्रम र अविश्वास फैलिन्छ। सञ्चारमाध्यमलाई यथार्थमै आधारित रहेर तथ्य प्रस्तुत गर्न आग्रह गर्छु।’

उनले आरोप पुष्टि नभएको अवस्थामा सार्वजनिक रूपमा बदनाम गरिनु दुःखद रहेको प्रतिक्रिया पनि दिएका छन्।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार २०:१७
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !