सिरहाका किसानको आशा : कमला र खुट्टीखोला नहर

सिरहाका किसानको आशा : कमला र खुट्टीखोला नहर
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १५, बिहीबार १८:२३
सिरहाका किसानको आशा : कमला र खुट्टीखोला नहर

सिरहा : सिरहाको कर्जन्हा–१ का किसान श्यामलाल यादव भर्खरै रोपाइँ सकेर पनि अझै निश्चिन्त हुन सकेका छैनन्। उनका आँखाहरू आकाशतिर टकटकी लागिरहेछन्—कहीं रोपिएको धान पानी नपाएर पहेँलिँदैन त? लामो खडेरीपछि कमला नहरमै पानी सुक्ला कि भन्ने चिन्ताले उनलाई मात्र होइन, सिंगो गाउँका किसानलाई सताइरहेको छ।

“नहरको पानीले खेत भरिन्छ भन्ने आशा छ,” यादव भन्छन्, “तर कहिलेकाहीँ नहर सुकिरहेको देख्दा मन अमिलो हुन्छ।”

ADVERTISEMENT

वर्षा अनियमित भइरहने पछिल्ला वर्षहरूका अनुभवले किसानलाई अझै ढुक्क हुन दिएको छैन। खेतीमै निर्भर जीवनशैली भएका किसानलाई रोपाइँ ढिलो हुँदा सिजन गुम्ने डर, बाली राम्रो नहुँदा वर्षैपिच्छे आम्दानी गुम्ने पीर छ। यस्तो अवस्थामा सिँचाइ नहर नै किसानको प्रमुख भरोसा बनेको छ—तर त्यो भरपर्दो छैन।

कमला नहरको आशा र चुनौती

श्यामलालको गाउँनजिकैबाट बग्ने कमला सिँचाइ नहर धेरै किसानका लागि आशाको स्रोत बनेको छ। नेपालको प्रमुख सिँचाइ आयोजना मानिने कमला नहरले दर्जनौं वर्षदेखि कृषिमा परिवर्तन ल्याउँदै आएको छ। २०१७ साल कात्तिक २६ गते तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिंहले शिलान्यास गरेकाे आयोजनाबाट २०४० सालदेखि सिँचाइ सेवा सुरु भएको हो।

कमला सिँचाइ व्यवस्थापन कार्यालय, पोर्ताहा धनुषाका प्रमुख वीरेन्द्र यादवका अनुसार, यसले पूर्वी खण्डमा सिरहातर्फ करिब १२ हजार ५०० हेक्टर तथा पश्चिमतर्फ धनुषामा थप यत्तिकै क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याएको छ।

कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा, सुखीपुर नगरपालिकासहित विष्णुपुर र औरही गाउँपालिकाका किसानहरू यसबाट लाभान्वित छन्।

तर हाल नदीमा नै पानीको सतह घटेकाले नहरमा पर्याप्त पानी प्रवाह हुन सकेको छैन। यस्तो अवस्थामा कार्यालयले आलोपालो प्रणाली लागू गर्दै किसानलाई सिँचाइ सेवा दिन थालेको छ।

“नहरको पानी शाखागत रूपमा पालो मिलाएर वितरण गरिएको छ,” प्रमुख यादवले बताए, “धान रोपाइँलाई प्राथमिकता दिँदै असार ९ गतेदेखि नहर सञ्चालनमा ल्याइएको थियो। तर नदीमै बहाव कम भएकाले सिँचाइ चुनौतीपूर्ण छ।”

अनुगमन र व्यवस्थापनलाई सशक्त बनाइएको भन्दै यादवले पानीको बहाव बढेपछि नियमित आपूर्ति सुनिश्चित गरिने आश्वासन दिए।

अधुरो सपना : खुट्टीखोला सिँचाइ आयोजना

सिरहाको पूर्वी भेगका किसानलाई लक्षित गरिएको खुट्टीखोला सिँचाइ आयोजना भने अझै अधुरै छ। लहान नगरपालिका–१० स्थित यस आयोजना अन्तर्गत मुख्य संरचना ‘हेडवक्र्स’ निर्माण भइसकेको छ, तर नहरमार्फत अहिलेसम्म पनि किसानको खेतसम्म पानी पुगेको छैन।

लहान–११ का किसान धर्मराज चौधरी भन्छन्, “नहर बनेको देखिन्छ, तर पानी आएको छैन। हरेक वर्ष आशामा खेत तयार पार्छौं, अन्त्यमा प्रकृतिमै भर पर्नुपर्छ।”

करिब ९ करोड लागतमा निर्माण सुरु गरिएको यस आयोजनाले लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारी गरी चार पालिकाका ९३५ बिघाभन्दा बढी क्षेत्रफलमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको हो। तर शाखा नहर, नियन्त्रण गेटलगायतका संरचना अधुरै छन्।

चार वर्षसम्म पानी नआएपछि किसानहरूले ‘सङ्घर्ष समिति’ गठन गरेर दबाब दिएका थिए। त्यसपछि मात्रै नहर सञ्चालनको प्रक्रिया अघि बढाइएको हो।

मधेस प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी भन्छन्, “स्थानीय सरकारले किसानका आवश्यकता प्रति संवेदनशीलता नदेखाउँदा काम अघि बढ्न सकेन। नहर केवल पूर्वाधार होइन, यो खाद्य सुरक्षा र जीवनसँग जोडिएको विषय हो।”

एकैदिन दुई नहरको स्थलगत अनुगमन

बुधबार कमला र खुट्टीखोला दुवै नहरको स्थलगत अनुगमन गरिएको छ। कर्जन्हा पुछार गाउँका किसानले पानी नपाएको गुनासोपछि जनप्रतिनिधि, सिँचाइ कार्यालयका अधिकारी तथा स्थानीय किसानको टोलीले कमला नहरको पूर्वी प्रणाली अवलोकन गरेको थियो।

कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्र पोखरेलका अनुसार, अब सातामा तीन दिन पानी प्रवाह गर्ने सहमति भएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको कमला प्रशाखाबाट अहिले डेढ सय बिघामा सिँचाइ भइरहेको भए पनि किसानले त्यसलाई १,००० बिघासम्म विस्तार गर्न माग गरेका छन्।

त्यसैदिन खुट्टीखोला नहरको ड्यामस्थल पनि अनुगमन गरिएको थियो। मुख्य संरचना बनेपनि बजेट अभाव, समन्वयको कमी र स्थानीय विवादका कारण आयोजनाले पूर्णता पाउन सकेको छैन।

खडेरीले धान रोपाइँमा असर गरेपछि सिँचाइको सुधार र सफाइका लागि मधेस प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट छुट्याएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाका अनुसार, सोही बजेटबाट खुट्टीखोला नहर सञ्चालनको तयारी गरिएको छ।

अनुगमन टोलीमा प्रदेशसभा सदस्य चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो, डिभिजन प्रमुख हस्मत अन्सारी, लहान इलाका प्रशासन प्रमुख गोकर्णराज सुयलसहित सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए।

स्थलगत अवलोकनपछि सबै निकायबीच सहमति भई छिट्टै नहर सञ्चालनमा ल्याइने जानकारी गराइएको छ। यद्यपि स्थानीयको गुनासो यथावत् छ—‘कामभन्दा प्रचार र प्रतिवद्धता धेरै छन्, पानी कम।’

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार १८:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !