‘श्रम संसार’ पोर्टल सुधार गरी वैदेशिक रोजगार व्यवस्थापन गर्ने : श्रममन्त्री भण्डारी

‘श्रम संसार’ पोर्टल सुधार गरी वैदेशिक रोजगार व्यवस्थापन गर्ने : श्रममन्त्री भण्डारी
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १२, सोमबार १९:२५
‘श्रम संसार’ पोर्टल सुधार गरी वैदेशिक रोजगार व्यवस्थापन गर्ने : श्रममन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले एकीकृत श्रम व्यवस्थापन पोर्टल ‘श्रम संसार’लाई थप सुधार गर्दै वैदेशिक रोजगारलाई थप व्यवस्थित गरिने बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत पोर्टलको सुधारबारे जानकारी दिँदै मन्त्री भण्डारीले आपतकालीन उद्धार सहायता र कन्सुलर सेवासहितका नयाँ सुविधा समावेश गरिएको जानकारी दिए।

ADVERTISEMENT

उनका अनुसार, वैदेशिक रोजगारमा गएका नेपालीको उद्धारका लागि विशेष मोड्युल तयार गरिएको छ। “अब ‘श्रम संसार’ पोर्टलमा च्याटबट सुविधा राख्दैछौं,” मन्त्री भण्डारीले भने, “प्रयोगकर्ता बोलेर सेवा लिन सक्ने सुविधा पनि थपिनेछ।”

उनले सामाजिक सञ्जालमा उद्धारका लागि याचना गर्ने प्रवृत्तिमा कमी ल्याउन पोर्टलमा फोटो र भिडियो अपलोड गर्न सकिने तथा सेवा मागकर्ताको ठेगाना तत्काल पत्ता लगाउन मिल्ने प्रविधि विकास भइरहेको जानकारी दिए।

स्वरोजगार र सीप विकासमा योगदान

मन्त्री भण्डारीले श्रम संसार पोर्टलले बेरोजगार व्यक्तिलाई शिक्षा, सीप र दक्षता अभिवृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरे। पोर्टलमार्फत रोजगारदाता र श्रमिकबीच जोड मिलाउनुका साथै स्वरोजगार प्रवर्द्धन हुने उनको भनाइ थियो।

कार्यक्रममा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी सबै सेवा डिजिटल माध्यममार्फत प्रदान गर्ने रणनीतिक कार्ययोजनाबारे पनि चर्चा गरे।

आन्तरिक रोजगार र डिजिटल पहुँच

राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले आन्तरिक रोजगारीका लागि ‘रोडम्याप’ तयार पार्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनले डिजिटल प्रविधिको पहुँच सबै नागरिकसम्म पुगोस् भन्नेमा ध्यान दिनुपर्ने सुझाव दिए।

श्रम मन्त्रालयका अनुसार हालसम्म देशभरका ६८९ स्थानीय तह ‘श्रम संसार’ पोर्टलमा आबद्ध भइसकेका छन्। मन्त्रालयका श्रम विज्ञ सल्लाहकार युवराज बस्नेतले स्वास्थ्य परीक्षण, अभिमुखीकरण, आर्टिफिसियल इन्टेलिजेन्स र उद्धार मोड्युलसमेत तयार भइसकेको जानकारी दिए।

मन्त्रालयअन्तर्गतको आन्तरिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाले पोर्टलले श्रम बजारका सूचना अद्यावधिक गर्ने र एकीकृत श्रम तथा रोजगार तथ्यांक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार १९:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !