जनकपुरधाममा खानेपानी संकट : जनप्रतिनिधी भाषण र फोटोमा व्यस्त, समाधानमा चासो छैन : प्रशान्त झा

जनकपुरधाममा खानेपानी संकट : जनप्रतिनिधी भाषण र फोटोमा व्यस्त, समाधानमा चासो छैन : प्रशान्त झा
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १२, सोमबार ०८:५५
जनकपुरधाममा खानेपानी संकट : जनप्रतिनिधी भाषण र फोटोमा व्यस्त, समाधानमा चासो छैन : प्रशान्त झा

जनकपुरधाम : जनकपुरधाममा पानीको चरम अभावले सर्वसाधारण हैरान भइरहेका बेला जनप्रतिनिधिहरू समस्याको समाधानभन्दा प्रचारप्रसारमै सीमित रहेको आरोप लाग्न थालेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जनकपुरधाम नगर सचिव प्रशान्त झाले नगरवासीको पीडामाथि गम्भीर ध्यानाकर्षण गराउँदै नगर प्रमुखदेखि सांसद तथा वडाध्यक्षसम्मका प्रतिनिधिहरूलाई भाषण र फोटो खिचाइमै केन्द्रित रहेको आरोप लगाएका हुन्।

ADVERTISEMENT

“जनकपुरमा खानेपानीको अभावले जनता हैरान छन्, तर नगर प्रमुखदेखि सांसद र वडाध्यक्षसम्मका जनप्रतिनिधिहरू भाषण र फोटो खिचाइमा मात्रै व्यस्त छन्, समस्याको समाधानमा भने कुनै ठोस कदम चालिएको छैन,” उनले गम्भीर टिप्पणी गरे।

उनका अनुसार जनकपुरधामका अधिकांश बस्तीहरू पानीको अभावमा वर्षौंदेखि जुझिरहेका छन्। विद्यालय, अस्पताल, होटल व्यवसायी र सर्वसाधारण सबै प्रभावित छन्। “विकासका ठूला सपना बाँड्ने जनप्रतिनिधिहरूले जनताको आधारभूत आवश्यकता पूरा गर्न चुकेका छन्,” उनले भने।

झाका अनुसार खानेपानीको आपूर्ति व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारसँग भए पनि यहाँको संरचना अस्तव्यस्त छ। “पिउने पानी विलासिता होइन, मानव अधिकार हो,” उनले चेतावनी दिँदै भने, “स्थानीयवासी अब आन्दोलनको बाटो रोज्न बाध्य भइरहेका छन्।”

जनकपुरधामका विभिन्न बस्तीमा दैनिक घण्टौँ लाइन लागेपछि पनि शुद्ध पिउने पानी पाउन मुस्किल पर्ने अवस्था रहेको स्थानीयको गुनासो छ। प्रशान्त झाले पानी समस्या समाधान गर्न तत्काल पहल नभए जनकपुरबासी चुप लागेर नबस्ने स्पष्ट सन्देश दिएका छन्।

प्रकाशित मिति: २०८२ श्रावण १२, सोमबार ०८:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !