रौतहटमा करेन्ट लागेर एकै वर्षमा २७ जनाको मृत्यु

रौतहटमा करेन्ट लागेर एकै वर्षमा २७ जनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ९, शुक्रबार ११:२०
रौतहटमा करेन्ट लागेर एकै वर्षमा २७ जनाको मृत्यु

रौतहट : रौतहट जिल्लामा करेन्ट लागेर ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले सर्वसाधारणलाई विद्युत प्रयोगमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार गत वर्षको साउनदेखि यो साता बिहीबारसम्म जिल्लामा करेन्ट लागेर २७ जनाको मृत्यु भइसकेको छ। अघिल्लो आर्थिक वर्षमा २३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्ष सुरु भएको छोटो अवधिमै चार जनाले करेन्ट लागेर ज्यान गुमाइसकेका छन्।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै करेन्ट लागेका घटनाहरू गम्भीर बन्दै गएको जनाउँदै जनसुरक्षाका लागि सावधानी अपनाउन अपिल गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “बिजुलीका काम गर्दा खाली खुट्टा हिँड्ने, पानी जमेको स्थानमा काम गर्ने, झुन्डिएको वा खुला तार प्रयोग गर्ने जस्ता गतिविधिले दुर्घटना निम्त्याउने भएकाले यस्तो कार्य नगर्न अनुरोध छ।”

प्रहरीले मर्मतका कामहरू केवल प्रमाणित विद्युत प्राविधिकबाट मात्र गराउन आग्रह गर्दै असुरक्षित विद्युतीय उपकरण तथा तार घरभित्र नझुण्ड्याउने र बालबालिकाले सजिलै छोइहाल्न सक्ने ठाउँमा विद्युतीय उपकरण नराख्न सुझाव दिएको छ।

त्यस्तै, खेतमा सिँचाइ गर्दा मिटर प्रयोग गर्न, रातको समयमा विद्युतीय मर्मत कार्य नगर्न र पोलबाट हुकिङमार्फत विद्युत चोरी नगर्न विशेष आग्रह गरिएको छ। प्रहरीका अनुसार हुकिङ प्रणालीबाट विद्युत चोरी गर्नु कानूनी अपराध मात्र नभई ज्यान जोखिममा पार्ने कार्य पनि हो।

प्रहरीले खुला स्थानमा, हल्का कपडामा वा भिजेको अवस्थामार्फत तार वा स्वीच छुँदा दुर्घटना हुन सक्ने भएकाले यस्ता ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने बताएको छ।

कुनै पनि समस्या वा सूचना भएमा प्रहरी कन्ट्रोल नम्बर १०० वा मोबाइल नम्बर ९८५५०४०९९९ मा तत्काल सम्पर्क गर्न अनुरोध गर्दै जिल्ला प्रहरी कार्यालयले जनचेतनामूलक अभियान सञ्चालन गरिने जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रबार ११:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !