‘कमला माताकै अपमान’: भ्रष्टाचारको अखडामा परिन्त कमला नगरपालिका

‘कमला माताकै अपमान’: भ्रष्टाचारको अखडामा परिन्त कमला नगरपालिका
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ५, सोमबार ०८:५६
‘कमला माताकै अपमान’: भ्रष्टाचारको अखडामा परिन्त कमला नगरपालिका

जनकपुरधाम : धनुषाको कमला नगरपालिकाका नगरप्रमुख बिशेश्वर प्रसाद यादवमाथि बजेट दुरुपयोग, तालिम तथा निर्माण कार्यमा कमिसन लिने, चेक वितरणमा अनियमितता गर्ने जस्ता गम्भीर भ्रष्टाचारको आरोप लागेको छ।

कमला देवीको नाममा नामाकरण गरिएको यस नगरपालिकामा ‘कमला माताकै अपमान’ हुने गरी व्यापक अनियमितता भएको भन्दै जनप्रतिनिधिहरूमाथि तीव्र आलोचना सुरु भएको छ।

ADVERTISEMENT

माओवादी केन्द्रका युवा नेता बीपी यादवले नगरप्रमुख यादवलाई ‘भ्रष्टाचारको नाइके’ भन्दै कडा आलोचना गरेका छन्। “जनकपुरधामको चौक चौकमा चेक वितरण गर्ने होइन, स्थानीय तहमै वितरण गर्नुपर्ने हो,” उनले भने, “तर नगरप्रमुखले व्यक्तिगत प्रचारको साधन बनाउँदै जनतालाई झुक्याउने काम गरेका छन्।”

‘६० प्रतिशत कमिसन, १० प्रतिशत चेक पासको सेटिङ’

युवानेता यादवका अनुसार विकास निर्माणका नाममा बजेट विनियोजन हुँदा नगरप्रमुखले ६० प्रतिशतसम्म कमिसन लिने गरेको प्रमाणसहितको आरोप छ। वडा स्तरका योजनामा पनि कमिसन प्रवृत्ति मौलाएको भन्दै उनले भने, “१० प्रतिशत चेक पासको सेटिङबाटै सबै योजना अघि बढाइन्छ।”

माटो, ग्राभेल, सामग्री खरिददेखि तालिम कार्यक्रमहरू सञ्चालनसम्म योजनाबद्ध ढंगले रकम हिनामिना गरिएको आरोप उनले लगाएका छन्।

‘मेयर कप क्रिकेट’ मा समेत अनियमितता

नगरस्तरीय खेलकुद प्रतियोगिता ‘मेयर कप क्रिकेट’ मा समेत अनियमितता भएको भन्दै बीपी यादवले आक्रोश पोखेका छन्। युवा खेलाडीहरूमाथि विभेद गरिएको र उनीहरूलाई प्राप्त हुनुपर्ने सुविधा कटौती गरिएको उनको दाबी छ।

“युवालाई प्रोत्साहित गर्ने नाममा बजेट छुट्याइन्छ तर त्यो बजेट पनि भ्रष्टाचारको शिकार हुन्छ,” यादवले भने, “खेलकुद जस्तो सकारात्मक अभियानलाई समेत बदनाम बनाइएको छ।”

‘कमला माताको नाममा कलङ्क लिएका छन् नगरप्रमुखले’

नगरप्रमुख बिशेश्वर प्रसाद यादव एक समय जिमदार परिवारका अनुशासित सन्तानका रुपमा चिनिँदै आएका थिए। तर पछिल्लो समय उनी ‘बजेट लुट्ने प्रवृत्ति’ का कारण बदनाम हुँदै गएका छन्।

“कमला माताको नाममा स्थापना गरिएको नगरपालिका आज भ्रष्टाचारको अखडा बनेको छ,” यादवले भने, “नगरप्रमुखले कमला माताकै खिल्ली उडाएका छन्।”

नगरप्रमुखको खण्डन: ‘काम नगर्नेहरू झुटफुसको आरोप लगाइरहेका छन्’

यता, नगरप्रमुख विशेश्वर प्रसाद यादवले आफूविरुद्ध लागेका आरोपको खण्डन गरेका छन्। उनले केही ‘काम नगर्ने र निराधार प्रचारमा रमाउने’ व्यक्तिहरूले झुटा आरोप लगाएको प्रतिक्रिया दिएका छन्।

“जसले काम गरेको छ, तीमध्ये कुनै पनि व्यक्तिले मविरुद्ध बोलेका छैनन्,” नगरप्रमुख यादवले भने, “एक–दुई जना झुटफुसको कुरा गरेर चर्चामा आउन खोजिरहेका छन्।”

चेक वितरणको विषयमा स्पष्ट गर्दै उनले थपे, “चेक वितरण गर्नु मेरो काम होइन। त्यसको स्पष्ट प्रक्रिया र सम्बन्धित शाखा छन्।”

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार ०८:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !