वीरगञ्ज आन्तरिक राजस्व कार्यालयले गत वर्ष ९ अर्ब ४५ करोड राजस्व संकलन

वीरगञ्ज आन्तरिक राजस्व कार्यालयले गत वर्ष ९ अर्ब ४५ करोड राजस्व संकलन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार ०८:२०
वीरगञ्ज आन्तरिक राजस्व कार्यालयले गत वर्ष ९ अर्ब ४५ करोड राजस्व संकलन

पर्सा : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ४५ करोड ९५ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्ब ५८ करोड रुपैयाँले बढी हो।

कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँका अनुसार अघिल्लो वर्षको तुलनामा राजस्व संकलन ३५.५७ प्रतिशतले वृद्धि भएको छ। “गत वर्ष विभागले ८ अर्ब ७१ करोड ८२ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो,” उनले भने, “तर हामीले सो लक्ष्यको १०९ प्रतिशत अर्थात् ९ अर्ब ४५ करोडभन्दा बढी संकलन गरेका छौं।”

ADVERTISEMENT

उनका अनुसार कार्यालयले आन्तरिक राजस्व विभागबाट निर्धारण गरिएका कार्यसम्पादन सूचकहरूमा ‘एक प्लस’ स्तर प्राप्त गर्न सफल भएको छ।

गत वर्षको तुलनामा यस पटकको नतिजा उल्लेखनीय रहेको बताउँदै चौलागाईँले बक्यौता असुली कडाइसँगै अनुगमन तथा करदाता शिक्षाका कार्यक्रम प्रभावकारी बनेको बताए। “चैत महिनासम्म राजस्व नबुझाउने करदाताको बैंक खाता, घरजग्गा, आयात–निर्यात रोक्का गरियो,” उनले भने, “त्यसले लक्ष्य पूरा गर्न धेरै टेवा दियो।”

कार्यालयले अन्तःशुल्कतर्फ ३ अर्ब ९ करोड ५७ लाख संकलन गर्ने लक्ष्य राखेकोमा ४ अर्ब १३ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। आयकरतर्फ २ अर्ब ८९ करोड ९९ लाखको लक्ष्य राखिएकोमा ३ अर्ब १० करोड १५ लाख संकलन भएको छ।

तर, मूल्य अभिवृद्धि करतर्फ भने लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन। २ अर्ब ५८ करोड ८७ लाख संकलन गर्ने लक्ष्य राखिएकोमा २ अर्ब १२ करोड ९१ लाखमात्र संकलन भएको छ।

चौलागाईँका अनुसार वीरगञ्ज क्षेत्रका १५ वटा करदाताको कारोबार सीमा नाघेर उनीहरू ठूला तथा मध्यमस्तरका करदाता कार्यालयमा स्थानान्तरित भएकाले मूल्य अभिवृद्धि कर संकलन लक्ष्य पुग्न नसकेको हो।

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार ०८:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !