सिरहाको भरनैनीमा खानेपानीको चरम संकट, वर्षौंदेखि जारको लाइनमै जीवन

सिरहाको भरनैनीमा खानेपानीको चरम संकट, वर्षौंदेखि जारको लाइनमै जीवन
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ असार २७, शुक्रबार १९:३४
सिरहाको भरनैनीमा खानेपानीको चरम संकट, वर्षौंदेखि जारको लाइनमै जीवन

सिरहा : सिरहाको धनगढीमाई नगरपालिका–१३ भरनैनी बस्तीका करिब १५० घरधुरीले वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आएका छन्। संघ, प्रदेश र स्थानीय सरकारका तह–तहको उपस्थिति भए पनि दीर्घकालीन समाधान अहिलेसम्म सुनिश्चित हुन सकेको छैन।

चुनावी समयमा नेताहरूको आश्वासनमा आशावादी बनेका स्थानीय बासिन्दा अहिले पनि एक जार पानीका लागि घण्टौँ लाइनमा बस्न बाध्य छन्। केही समयअघि नगरपालिकाले दुई वटा बोरिङ जडान गरे पनि पानीको मात्रा न्यून भएपछि समस्या जस्ताको त्यस्तै छ।

ADVERTISEMENT

स्थानीय लक्ष्मीनियाँ देवी राम भन्छिन्, “घाममा घण्टौँ लाइन बस्नुपर्छ, दुई–तीन घण्टापछि बल्ल पालो आउँछ। एक जार पानीबाट खाना पकाउने, कपडा धुने र गाईवस्तुलाई खुवाउने सबै काम गर्नुपर्छ। कतिपय त खाली हातै फर्किनुपर्छ।”

त्यस्तै, स्थानीय देवकी मोचीले पहिले चल्दै आएको खानेपानी ट्याङ्कीबाट अहिले पानी झन् कम आउन थालेको बताइन्। “अब त १० दिन भयो पानी नआएको। थोरै आउने पानीका लागि घण्टौँ लाइन बस्नुपर्छ,” उनले भनिन्।

गहनी देवीराम र रधिया रामको गुनासो अझै तीव्र छ। “बिहानदेखि बेलुकासम्म पानीकै चिन्तामा बित्छ। नेताहरू चुनाव आउँदा बोरिङ दिने भन्छन्, तर जितेपछि फर्केर कोही आउँदैन,” उनीहरूले दुखेसो पोखे।

धनगढीमाई–१३ का वडाध्यक्ष सूर्यमान तामाङले खानेपानी ट्याङ्की निर्माण भइसकेको र अब पाइपलाइन विस्तारको काम बाँकी रहेको बताए। “स्थायी समाधानका लागि तयारी भइरहेको छ, चाँडै समाधान गर्छौं,” उनले भने।

यस्तो समस्याबीच केही दिनअघि संघीय खानेपानीमन्त्री प्रदीपकुमार यादवले यही वडामा ‘डाबर खानेपानी योजना’ उद्घाटन गरेका थिए। उद्घाटनले केही आशा जगाए पनि बासिन्दाले अझै पनि धारामा सुक्खा नै महसुस गरिरहेका छन्।

धनगढीमाई नगरप्रमुख शिवशङ्कर महतोले भरनैनी बस्तीको समस्या दीर्घकालीन भएको स्वीकार गर्दै समाधानतर्फ अग्रसर भएको दाबी गरे। “हामी बस्तीको समस्याप्रति पूर्ण जानकार छौँ। ट्याङ्की निर्माण भइसकेको छ, अब पाइपलाइन र पानीको स्रोत सुदृढीकरणमा जोड दिइरहेका छौँ,” उनले भने।

उनले थपे, “पानी प्रत्येक नागरिकको मौलिक अधिकार हो। अहिलेको व्यवस्थापन र योजना कार्यान्वयनले स्थायी समाधान ल्याउनेछ। संघ र प्रदेश सरकारसँग समन्वय भइरहेको छ।”

तर तत्कालका लागि भने भरनैनीका बासिन्दाहरूको दिनचर्या पानीको लाइनमा सुरु हुन्छ र त्यही लाइनमा टुंगिन्छ।

प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार १९:३४
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !