जबर्जस्ती करणी मुद्दामा सफाइ पाएपछि डिएसपी निवासमै आरोपीसहित भव्य पार्टी

जबर्जस्ती करणी मुद्दामा सफाइ पाएपछि डिएसपी निवासमै आरोपीसहित भव्य पार्टी
मधेशपत्र मधेशपत्र २०८२ असार ११, बुधबार १५:३९
जबर्जस्ती करणी मुद्दामा सफाइ पाएपछि डिएसपी निवासमै आरोपीसहित भव्य पार्टी

राजविराज : जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत सप्तरीबाट सफाइ पाएका व्यक्तिले भोलिपल्टै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेतको निवासमै भव्य पार्टी गरेका छन्। सो पार्टीमा प्रहरी निरीक्षकदेखि सफाइ पाएका अभियुक्त आफैं सहभागी भएको खुलेको छ।

राजविराज नगरपालिका–६ का आकाश आदर्शले गत ४ जेठमा अदालतबाट सफाइ पाए। त्यसको भोलिपल्टै ५ जेठमा उनले अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षक मनीष श्रेष्ठको जन्मदिन मनाउने बहानामा डिएसपी बस्नेतको क्वार्टरभित्रै भव्य पार्टी आयोजना गरेका हुन्।

ADVERTISEMENT

स्रोतका अनुसार सो पार्टीमा डिएसपी बस्नेत, प्रहरी निरीक्षक मनीष श्रेष्ठ, प्रहरी निरीक्षक उदयकुमार राई र आरोपी आदर्शसहित केही अन्यको पनि उपस्थिति थियो।

बलात्कार मुद्दा, सफाइ र पार्टी

आदर्शमाथि उनले सञ्चालन गरेको ‘तन्दुरी रेस्टुरेन्ट’ की एक महिला कर्मचारीले जबर्जस्ती करणी गरेको आरोप लगाउँदै ०८१ असोजमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएकी थिइन्। महिलाको भनाइ अनुसार उनले करणी गरेर भिडियो बनाइ सार्वजनिक गरिदिन्छु भन्दै धम्कीसमेत दिएका थिए।

जाहेरीपछि उनलाई नियन्त्रणमा लिइयो र प्रहरी निरीक्षक मनीष श्रेष्ठ अनुसन्धान अधिकृत तोकिए। अनुसन्धानपछि मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतमा पेस गरियो। थुनछेक बहसपछि उनी पाँच लाख धरौटीमा रिहा भएका थिए।

गत २० कात्तिकमा आरोपपत्र दायर गरिएको उक्त मुद्दाको १०औँ पेशीमा न्यायाधीश रोमनाथ अधिकारीको इजलासले ४ जेठमा अभियोग प्रमाणित नपुगेको भन्दै सफाइ दिएको थियो।

डिएसपी र अनुसन्धान अधिकृतकै सामेल पार्टी

४ जेठमा अदालतबाट सफाइ पाएपछि ५ जेठमा आदर्शले डिएसपी बस्नेतकै निवासमा प्रहरी निरीक्षक श्रेष्ठको जन्मदिनको पार्टी आयोजना गरेका थिए।

डिएसपी बस्नेतले पार्टी भएको स्वीकार गर्दै भने, ‘प्रहरी निरीक्षक मनीष श्रेष्ठ जन्मदिन मनाउन निवासमा आउनुभयो, आकाश आदर्श पनि थिए। मुद्दाबारे मलाई जानकारी थिएन।’

प्रहरी निरीक्षक श्रेष्ठले पनि पार्टीमा आदर्श सहभागी भएको पुष्टि गरे।

आलोचना र छानबिन

वरिष्ठ अधिवक्ता शैलेन्द्र अम्बेडकरले भने, ‘अदालतले सफाइ दिए पनि मुद्दा अझै दुई तहसम्म जानसक्छ। त्यसको भोलिपल्टै प्रहरी अधिकारी र अनुसन्धान अधिकृत आरोपीसँगै पार्टीमा देखिनु गम्भीर विषय हो। प्रहरी केन्द्रीय नेतृत्वले यसमा चासो दिनुपर्छ।’

मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले विषयबारे छानबिन भइरहेको बताएका छन्। ‘तपाईंले चासो देखाउनुभएको विषयप्रति म जानकार छु,’ उनले भने, ‘यसबारे छानबिन भइरहेको छ।’

यस घटनाले प्रहरी प्रशासन र अनुसन्धानको निष्पक्षता तथा आचरणमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: २०८२ असार ११, बुधबार १५:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !