धनुषामा खेतमा जडान गरिएको करेन्ट लागेर महिलाको मृत्यु

धनुषामा खेतमा जडान गरिएको करेन्ट लागेर महिलाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८२ असार ५, बिहीबार १३:३८
धनुषामा खेतमा जडान गरिएको करेन्ट लागेर महिलाको मृत्यु

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरमा खेतमा जडान गरिएको विद्युतीय तारको करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।

बिहीबार बिहान ९ बजे तरकारी खेतमा काम गर्न गएकी ५० वर्षीया मङ्गलीदेवी महतोको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। मृतक मङ्गलीदेवी सोही वडाका रामअशिष महतोकी पत्नी हुन्।

ADVERTISEMENT

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार घटनास्थलको अनुसन्धानमा रामप्रमोद महतो नामक स्थानीय किसानले खेतको तरकारी बाली जोगाउन अवैधानिक रूपमा विद्युतीय घेराबार बनाएका थिए। उनले खेत वरिपरि नाङ्गो तार तानी करेन्ट प्रवाह गरेका थिए, जसमा छोइएर मङ्गलीदेवीको मृत्यु भएको प्रारम्भिक तथ्यबाट खुलेको प्रहरीको भनाइ छ।

घटनापछि मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए।

स्थानीय बासिन्दाका अनुसार ढल्केबर क्षेत्रका केही किसानले बाली जोगाउन यस्तै किसिमको घातक प्रविधि प्रयोग गर्ने गरेका छन्। अवैधानिक रूपमा तारमा करेन्ट प्रवाह गर्दा जङ्गली जनावर मात्र नभई मानिसको पनि ज्यान जाने क्रम बढिरहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

प्रहरीले घटनामा संलग्न व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

 

प्रकाशित मिति: २०८२ असार ५, बिहीबार १३:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !