साउदी जेलमा ५४४ नेपाली, अधिकांश रक्सी सेवन र बिक्री अभियोगमा

साउदी जेलमा ५४४ नेपाली, अधिकांश रक्सी सेवन र बिक्री अभियोगमा
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार १४:४४
साउदी जेलमा ५४४ नेपाली, अधिकांश रक्सी सेवन र बिक्री अभियोगमा

रियाद : वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ५ सय ४४ नेपाली हाल जेलमा परेका छन्। तीमध्ये अधिकांश मदिरा सेवन, उत्पादन र ओसारपसारको अभियोगमा पक्राउ परेका हुन्।

साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार, ३४५ जना नेपाली मदिरासम्बन्धी अभियोगमा जेल परेका छन् भने अन्यहरू विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा कारवाहीमा परेका छन्।

ADVERTISEMENT

दूतावासका अनुसार, ८४ जना लागुऔषध ओसारपसार, ५३ जना चोरी, १६ जना तोडफोड, १५ जना घुसकाण्ड, १२ जना वेश्यावृत्ति, ७ जना नियम उल्लंघन, ४ जना हत्याको अभियोगमा जेलमा छन्। हालसम्म ३४१ जनालाई सजाय सुनाइएको छ भने २०३ जनाको मुद्दा विचाराधीन अवस्थामा रहेको बताइएको छ।

नेपाली राजदूत डा. नरेश विक्रम ढकालले नेपालीहरू साथीभाइको प्रभाव र लोभमा परेर साउदीको कठोर कानुन उल्लंघन गर्ने गरेको भन्दै चिन्ता व्यक्त गरे। उनले अवैध क्रियाकलापबाट बच्न र साउदीका नियमकानुनबारे सचेत रहन सबै नेपालीलाई आग्रह गरेका छन्।

दूतावासका अनुसार, हालसम्म ३८ सयभन्दा बढी अवैधानिक रूपमा बसेका नेपालीलाई एक्जिट भिसा दिलाइएको छ। त्यस्तै, अवैध रूपमा काम गर्ने नेपालीको संख्या दैनिक बढ्दो छ।

दूतावासले साउदीमा कार्यरत नेपालीहरूलाई कानुनी प्रक्रिया, मर्यादा र शिष्टाचारमा रहेर काम गर्न र कुनै पनि गैरकानुनी गतिविधिमा नजान सुझाव दिएको छ।

साउदीमा हाल झण्डै ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ। पछिल्लो समय श्रमशोषण, कफाला प्रणालीको दुरुपयोग, खराब कार्य वातावरण, मानसिक तनाव र कानुनी अज्ञानताका कारण धेरै नेपालीले कम्पनी छोडेर भाग्ने गरेको पाइएको छ।

प्रकाशित मिति: २०८२ असार १, आईतवार १४:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !