धनुषाको मठेश्वरनाथ मन्दिर उत्खननमा लिच्छविकालीन अवशेष फेला

धनुषाको मठेश्वरनाथ मन्दिर उत्खननमा लिच्छविकालीन अवशेष फेला
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ ३०, शुक्रबार १५:०७
धनुषाको मठेश्वरनाथ मन्दिर उत्खननमा लिच्छविकालीन अवशेष फेला

जनकपुरधाम : धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा रहेको ऐतिहासिक मठेश्वरनाथ मन्दिरको भनिएको स्थानमा गरिएको पुरातात्विक उत्खननमा लिच्छविकालीन कालका महत्वपूर्ण भग्नावशेषहरू फेला परेका छन्। पुरातत्व विभागद्वारा दोश्रो चरणमा गरिएको उत्खननमा माटोले बनेको गजुरका टुक्रा, मूर्तियुक्त ढुङ्गा, चिलम, इँटा लगायतका नवौं शताब्दी तिरका धार्मिक सामग्री भेटिएको हो।

यसअघि गत वर्ष असारमा गरिएको प्रारम्भिक उत्खननमा पनि लिच्छविकालीन संरचनाका भग्नावशेष फेला परेका थिए। सबैला नगरपालिकाको पहलमा पुनः सुरु गरिएको उत्खननमा विभागले मन्दिरको गहिराइ, पर्खालको फैलावट र वास्तुकलाको अध्ययन गरिरहेको छ।

ADVERTISEMENT

पुरातत्व विभागका पुरातत्वविद् प्रकाशन दर्नालका अनुसार यसपटकको उत्खननबाट विशेष रूपमा माटोले बनेको मन्दिरको गजुर, २५ वटा मूर्तियुक्त ढुङ्गा र अन्य धार्मिक सामग्री फेला परेका छन्। उनले उत्खननको क्रममा भेटिएको एउटा ढुङ्गामा लिच्छविकालीन लिपिमा ‘माना’ लेखिएको उल्लेख गर्दै भने, “यस ढुङ्गाका अगाडि र पछाडिका अक्षर मेटिएकाले पूरै अर्थ खुल्न सकेको छैन।”

दर्नालका अनुसार फेला परेका संरचनाले कुनै प्राचीन मन्दिरको स्पष्ट संकेत दिन्छ, तर यो नै ऐतिहासिक मठेश्वरनाथ मन्दिर हो वा होइन भन्ने यकिन गर्न अझै अध्ययन आवश्यक छ। उत्खनन स्थलको पश्चिमतर्फ रहेको प्रवेशद्वार हुँदै उत्खनन थालिएको थियो भने माथिल्लो भागमा सिमेन्ट र पुराना इँटाले ढाकिएको देखिएको छ। तल्लो भागमा इन्टरलक शैलीमा राखिएका ठूलो आकारका ढुङ्गाहरू भेटिएको दर्नालले जानकारी दिए।

“उत्खननले मन्दिरको सम्पूर्ण स्वरूप र यसको ऐतिहासिक कालखण्ड पुष्टि गर्न अझ अध्ययन आवश्यक छ,” दर्नालले भने। उनका अनुसार भग्नावशेषको स्वरूप हेर्दा दक्षिणपूर्व कुनातर्फ समेत त्यस्तै संरचनाहरू रहेको संकेत भेटिएको छ।

दर्नालले मिथिला सभ्यता काठमाडौं उपत्यकाको सभ्यताभन्दा पुरानो हुन सक्ने धारणा राख्दै मौर्य, गुप्त, ब्रिजी संघ र मिथिला सभ्यताको प्रमाण कोशीदेखि गण्डकीसम्म फैलिएको सम्भावना रहेको बताए। “फेला परेका शिल्पशैली र आकृतिहरू बुद्धकालीन कलाशैलीसँग सामीप्य राख्दछन्,” उनले भने।

उत्खननमा संलग्न इन्जिनियर सुरेन्द्र पजियारले दुईवटा छुट्टाछुट्टै मन्दिरका भग्नावशेष फेला परेको जानकारी दिए। उनका अनुसार पहिलो मन्दिर अनुमानित ५०–६० फिट अग्लो र दोस्रो मन्दिर १५–२० फिट अग्लो भएको हुनसक्छ।

स्थानीय सत्यनारायण मण्डलका अनुसार २०३३–३४ सालतिर ‘झोपे मल्ल’ नाम गरेका व्यक्तिले खनिएको मन्दिरबाट बहुमूल्य वस्तु फेला पर्ने आशामा ढुङ्गा निकालेर फालिएको थियो। अर्का स्थानीय विन्देश्वर यादवका अनुसार एक अघोरी बाबासँग मिलेर मल्लले मन्दिर खनाएका थिए। “इँटाहरू इनारबाट झिकेर मन्दिरमा जडान गरिएको थियो,” उनले दाबी गरे।

स्थानीयको भनाइमा यो स्थानमा मिथिलाका राजा जनकले बनाएको मठेश्वरनाथ मन्दिर थियो। जनविश्वासअनुसार जनकले चार मठ निर्माण गरेका थिए । जलेश्वरको जलेश्वरनाथ, क्षीरेश्वरको क्षीरेश्वरनाथ, भारतको कल्नाको कल्याणेश्वरनाथ र गोविन्दपुरको मठेश्वरनाथ। अन्य तीन मठ अस्तित्वमा रहे पनि मठेश्वरनाथ मन्दिर समयक्रममा विलुप्त भएको मानिन्छ।

सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले मठेश्वरनाथ मन्दिर उत्खननले मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। “आगामी आर्थिक वर्षदेखि मन्दिरको डीपीआर तयार गरेर पुरानै शैलीमा पुनर्निर्माण थालिनेछ,” यादवले जानकारी दिए।

उहाँले उत्खनन स्थलबाट अझ महत्वपूर्ण पुरातात्विक सामग्री भेटिने विश्वास व्यक्त गर्दै संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमार्फत यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको बताए।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ३०, शुक्रबार १५:०७
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !