निलम्बित मेयर यादवले लगाएको ताला तोडिँदै हाकिम हाजिर, झडप र तोडफोड

निलम्बित मेयर यादवले लगाएको ताला तोडिँदै हाकिम हाजिर, झडप र तोडफोड
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८२ जेष्ठ २७, मंगलवार १३:१९
निलम्बित मेयर यादवले लगाएको ताला तोडिँदै हाकिम हाजिर, झडप र तोडफोड

राजविराज : प्रमुख प्रशासकीय अधिकृतको हाजिरीलाई लिएर राजविराजमा तनाव चुलिएको छ। निलम्बित मेयर भीमराज यादवले लगाएको ताला तोडेर कार्यवाहक मेयर इसरत परबिन नेतृत्वको टोलीले मंगलबार बिहान प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएपछि नगरपालिकामा झडप र तोडफोड भएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको सरुवा भई शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको थियो। उक्त निर्णयविरुद्ध भीमराज यादवले आईतबार कार्यालयमा ताला लगाएका थिए।

ADVERTISEMENT

तर मंगलबार बिहान कार्यवाहक मेयर परबिन नेतृत्वको जनप्रतिनिधि टोलीले ताला तोडेर हाकिम यादवलाई कार्यालयको माथिल्लो तलामा हाजिर गराएपछि स्थिति तनावपूर्ण बन्यो। यसपछि निलम्बित मेयर यादव समर्थकले कार्यालय परिसरमा नाराबाजी गर्दै व्यापक तोडफोड गरे।

विस्तृत तोडफोड र कुटपिट

भीमराज समर्थकको झुण्डले नगरपालिका भवनका अधिकांश सिसा फुटाएका छन्। बारुण यन्त्रका कर्मचारी बस्ने भवनका सबै सिसा समेत तोडिएका छन्। त्यतिमात्र होइन, उनीहरुले लेखापाल शत्रुद्यन लाल दासलाई निर्घात कुटपिट गरेका छन्। गम्भीर घाइते भएका दासको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।

स्वास्थ्यकर्मी सन्तोष दासमाथि समेत हातपात भएको छ भने घटना खिचिरहेका तीन सर्वसाधारणको मोबाइल खोसेर फुटाइएको छ।

प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा तोडफोड गरिएको घटनाले स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठाएको छ। झडपकै क्रममा यादव समर्थकले नगरपालिकाको प्रवेशद्वार बाहिर टायर जलाएर प्रदर्शन समेत गरेका छन्।

छलफल निष्कर्षविहीन

यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी विवाद टुंग्याउन छलफल चले पनि कुनै निष्कर्ष ननिस्किएको स्रोतको दाबी छ।

यस घटनाले राजविराज नगरपालिका प्रशासनमा देखिएको विवाद झनै चर्किएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २७, मंगलवार १३:१९

तपाईको प्रतिक्रिया !