पर्यटकको बसाइँ लम्ब्याउन प्रचारप्रसारमा जोड दिनुपर्छ : उपाध्यक्ष अधिकारी

पर्यटकको बसाइँ लम्ब्याउन प्रचारप्रसारमा जोड दिनुपर्छ : उपाध्यक्ष अधिकारी
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २६, सोमबार १८:२२
पर्यटकको बसाइँ लम्ब्याउन प्रचारप्रसारमा जोड दिनुपर्छ : उपाध्यक्ष अधिकारी

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नेपालका पर्यटकीय गन्तव्यहरूको प्रभावकारी प्रचारप्रसार गर्न सके देशमा आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन सकिने बताएका छन्।

अठारौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनी अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष अधिकारीले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गरे।

ADVERTISEMENT

‘पर्यटन हाम्रो अर्थतन्त्रको मुख्य आधार बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो,’ उनले भने, ‘हामीले नेपालमा आउने पर्यटकको बसाइँ लम्ब्याउने र उनीहरूको खर्च वृद्धि गराउने रणनीति अवलम्बन गर्न आवश्यक छ।’

नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, रैथाने जीवनशैली, स्वाद तथा परिकार, धर्म र संस्कृतिबाट समेत पर्यटकलाई आकर्षित गर्न सकिने उनले बताए। नीति निर्माण तहमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर सरकार विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी पनि उनले दिए।

राससले आयोजना गरेको प्रदर्शनीमा प्रचारप्रसार नभएका तथा ओझेलमा परेका पर्यटकीय स्थलहरू समेटिएको उल्लेख गर्दै अधिकारीले ती स्थानबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी दिन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमार्फत हिमाल, हिमाली जनजीवन तथा पर्यापर्यटनको सौन्दर्य र महत्व उजागर गर्ने प्रयास गरिएको जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा पूर्वदेखि पश्चिमसम्मका हिमशृङ्खला, हिमाली क्षेत्रको जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्य समेटिएका ९६ वटा तस्बिर राखिएका छन्।

जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीले पर्यटकीय स्थलसँगै पूर्वाधार विकास र स्थानीय जनजीवन बुझ्न पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २०८२ जेष्ठ २६, सोमबार १८:२२

तपाईको प्रतिक्रिया !