विद्यार्थी जनमत संघको आग्रह : स्कुल क्याम्पसमा हरित पार्क निर्माण गर्न माग

विद्यार्थी जनमत संघको आग्रह : स्कुल क्याम्पसमा हरित पार्क निर्माण गर्न माग
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २३, शुक्रबार १७:०३
विद्यार्थी जनमत संघको आग्रह : स्कुल क्याम्पसमा हरित पार्क निर्माण गर्न माग

जनकपुरधाम : विद्यार्थी जनमत संघले मधेश प्रदेश सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालयलाई स्कुल तथा क्याम्पस परिसरमा हरित पार्क निर्माण गर्न आग्रह गरेको छ।

संघका केन्द्रीय संयोजक पोषण कुमार यादवको नेतृत्वमा मन्त्रालयलाई बुझाइएको ज्ञापनपत्रमार्फत “स्वच्छ वातावरण तथा मैत्रीपुर्ण पार्क निर्माण” अभियानलाई सफल बनाउन चारबुँदे माग राखिएको हो।

ADVERTISEMENT

संघले प्रदेशभित्रका सम्पूर्ण क्याम्पस तथा माध्यमिक विद्यालयहरूमा हरियाली वातावरण विस्तार गर्नुपर्नेमा जोड दिँदै विद्यालय र क्याम्पसमा हरित पार्क निर्माणमार्फत शिक्षा संस्थालाई वातावरणमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।

संघद्वारा प्रस्तुत चारबुँदे मागमा क्याम्पस र विद्यालयमा हरित पार्क निर्माण, सफा शौचालयको व्यवस्था र जिर्ण भौतिक संरचनाको स्तरोन्नति समावेश छन्।

संघले,प्रत्येक क्याम्पसमा हरित पार्क निर्माण, माध्यमिक विद्यालयहरूमा हरित पार्कको स्थापना, शैक्षिक संस्थामा स्वच्छ तथा सफा शौचालय निर्माण र विभिन्न क्याम्पसहरूको भौतिक अवस्था जिर्ण भएकाले स्तरोन्नतिको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

संघका संयोजक पोषण कुमार यादवले विद्यार्थीहरूमा वातावरणप्रति चेतना बढाउने र शिक्षणस्थललाई स्वच्छ, हरियाली र मैत्रीपूर्ण बनाउने उद्देश्यका साथ माग गरिएको बताए। “हामीले शिक्षा संस्था मात्र होइन, वातावरणमैत्री समाज निर्माणतर्फ पनि राज्यको ध्यान जानुपर्छ भन्ने सन्देश दिन खोजेका छौं,” संयोजक यादवले सेतोपाटीसँग भने।

यसअघि मन्त्रालयले ‘हरित मधेश, स्वच्छ वातावरण’ नारासहित विभिन्न वृक्षरोपण तथा हरियाली प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विद्यार्थी जनमत संघले यिनै अभियानलाई शैक्षिक संस्थासम्म विस्तार गर्न आग्रह गरेको हो।

संघबाट आएको ज्ञापनपत्रलाई मन्त्रालयले गम्भीर रूपमा लिएको जनाएको छ। वन तथा वातावरण मन्त्री संजय कुमार यादवले विद्यार्थीहरूको मागप्रति सकारात्मक संकेत दिँदै आगामी बजेट र नीति निर्माणमा समावेश गर्ने आश्वासन दिएका छन्।

“विद्यार्थीहरूबाट आएको सुझावप्रति मन्त्रालय गम्भीर छ। हामी यी बुँदाहरूलाई बजेट र नीति निर्माणमा समावेश गर्ने प्रयास गर्नेछौं,” मन्त्री यादवले भने।

हरित प्रदेश निर्माणको साझा लक्ष्यप्रति प्रदेश सरकार र विद्यार्थी संगठनबीचको सहकार्यले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २३, शुक्रबार १७:०३

तपाईको प्रतिक्रिया !