मधेश सरकारद्वारा जनकपुरधाममा ११ करोडको लागतमा विद्युतिय शवदाह गृह निर्माण हुने

मधेश सरकारद्वारा जनकपुरधाममा ११ करोडको लागतमा विद्युतिय शवदाह गृह निर्माण हुने
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १६, शुक्रबार १९:१६
मधेश सरकारद्वारा जनकपुरधाममा ११ करोडको लागतमा विद्युतिय शवदाह गृह निर्माण हुने

जनकपुरधाम : प्रदेश सरकारले प्रदेशको राजधानी जनकपुरधाममा अत्याधुनिक विद्युतिय शवदाह गृह निर्माण गर्न लागिरहेको छ । उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयको अगुवाइमा गंगासागर पोखरीको डिलमा अवस्थित स्वर्गद्वारमा ११ करोड रुपैयाँको लागतमा इलेक्ट्रिक शवदाह गृह निर्माण गरिने भएको हो ।

शुक्रवार मन्त्रालयको सरोकारवालासँगको छलफलपछि यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरिएको मन्त्रालयका सचिव रामकुमार खंगले जानकारी दिए । उनका अनुसार शवदाह गृह निर्माणका लागि यसै साता टेन्डर प्रक्रिया सुरु हुनेछ र दुई वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य छ ।

ADVERTISEMENT

निर्माण कार्य सम्पन्न गर्न ११ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । सचिव खंगका अनुसार शवदाह गृहमा अढाई तल्ले भवन, दुईवटा शवदाह ट्रली बेड, भृञ्चुरी स्क्रबर, वेट स्क्रबर, धुवाँ निस्कने चिम्नी, अस्थि व्यवस्थापन संरचना लगायतका वातावरणमैत्री पूर्वाधार बनाइनेछ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले यो परियोजना जनकपुरको लागि गौरवको विषय भएको बताए । “निर्माण सम्पन्न भएपछि आवश्यक कार्यविधि तयार गरी स्वर्गद्वारी समितिलाई सञ्चालनको जिम्मेवारी दिइनेछ, साथै आर्थिक कोष स्थापना गरेर दिगो रूपमा सञ्चालन गरिनेछ,” मेयर साहले बताए ।

परम्परागत दाहसंस्कार विधिमा देखिएका खर्च, कठिनाइ र वातावरणीय असरलाई दृष्टिगत गर्दै प्रदेश सरकारले वैकल्पिक रूपमा विद्युतिय शवदाह गृहको अवधारणा अघि बढाएको हो । यसबाट काठको खपत कम हुनुका साथै कार्बन उत्सर्जन घट्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार १९:१६

तपाईको प्रतिक्रिया !