रौतहटमा तस्करी रोकिएन, सुरक्षा निकायकै मिलेमतोमा सीमाबाट तस्करी

रौतहटमा तस्करी रोकिएन, सुरक्षा निकायकै मिलेमतोमा सीमाबाट तस्करी
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १६, शुक्रबार ०८:३९
रौतहटमा तस्करी रोकिएन, सुरक्षा निकायकै मिलेमतोमा सीमाबाट तस्करी

रौतहट : भारतसँग सीमा जोडिएको रौतहटका विभिन्न नाकाबाट हुने तस्करी अझै रोकिएको छैन। सीमावर्ती क्षेत्रमा साना समूहदेखि ठूला तस्कर समूह सक्रिय छन् भने तिनले सुरक्षाकर्मीको मिलेमतोमा खुलेआम भन्सार छलेर सामान ओसारपसार गरिरहेको पाइएको छ।

गौर भन्सारलगायत ब्रह्मपुरी, लक्ष्मीपुर, बेलबिछवा, होमपाइप, महादेवपट्टी, झुलुङ्गे पुल, बंजरहा, औरैया, मठिया, रामपुर खाप, सानो घिउरा, नरकटिया, चिरान नाका, मोतिपुर, जयनगर, बंकुल, सरमुजवा लगायत दर्जनौं नाकाबाट दैनिक उपभोग्य सामग्रीदेखि मदिरासम्मको तस्करी भइरहेको स्रोतको दाबी छ।

ADVERTISEMENT

साइकल, मोटरसाइकलमार्फत भारतीय बजारबाट ल्याइने सामानहरू जस्तै साडी, कपडा, चप्पल, स्पेयर पार्ट्स, खैनी, कुखुराको चल्ला, अण्डा, तेल, बीउ, खाद, चिनी र हार्डवेयर  गौर भन्सार नाका तथा सहायक नाकाबाट सशस्त्र प्रहरीकै अगाडि ओसारिने गरिएको छ।

स्थानीयको अनुसार, गौर नाकाको मितेरी पुलमा एक दर्जनभन्दा बढी महिलाले भारतबाट ल्याइएका सामान थुपार्ने गर्दछन्। भन्सारमा खटिएका सुरक्षाकर्मीले दिउँसो र साँझ ‘हरियो सिग्नल’ दिएपछि ती सामान नेपाल भित्र्याइने गरिएको छ।

तस्करको ‘लाइन’ खुला

गौर नाका हुँदै तस्करीमा संलग्न हुनेहरूमा किरणिया, मुकेश, धिरज, मुस्कान, ममता, नगमा, अंसु, चतरी, सरिता आमा, सात सहेलिया, कुदनी प्रकाश, राजकुमार, रामदेव, राजेश, राधेश्याम लगायतका नाम खुलेका छन्।

त्यस्तै, ब्रह्मपुरी, लक्ष्मीपुर र बेलबिछवाबाट बिरेन्द्र सिंह, रुपेश यादव, संजय यादव, पप्पु पण्डित र सुनिल यादव, होमपाइप नाकाबाट राजेश पासवान र रुपेश दास, महादेवपट्टीबाट रौशन र रवी, बंजरहा नाकाबाट अमरजीत, सदरे र मुकेश सक्रिय रहेको बताइएको छ।

मठिया, महुलिया, लतमरी नाकाबाट धरमजित, संजय, पवन, मिश्रिलाल सानो घिउरा र जयनगर नाकाबाट चतरा, बरकत, रामप्रवेश, अजय मोसरफ,नरकटिया र बंकुलबाट रुपेश, मोतिम, संतोष यादव, नवल, संदिप पिड्वा, संगोष र शम्भु लगायतको लाइन खुलेको स्रोतको भनाइ छ।

मदिरा तस्करीमा पनि संलग्नता

बिहार सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि सीमावर्ती नाकाबाट दैनिक हजारौं कार्टुन मदिरा भारत पठाइँदै आएको स्थानीयले बताएका छन्।

विशेषगरी लक्ष्मीपुरमा रहेको सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरी चौकीको मिलेमतोमा ठूलो परिमाणमा मदिरा तस्करी हुने गरेको आरोप छ। बेलबिछवा र ब्रह्मपुरी नाकाबाट भारतीय गाउँ आदमबान र मुसाचकसम्म मदिरा लैजानु सामान्य भएको स्थानीयको भनाइ छ।

राजस्व संकलनमा असर

सीमावर्ती क्षेत्रमा तस्करी रोक्न सुरक्षाकर्मी उदासीन देखिँदा गौर भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन। यसले सरकारको ढुकुटीमा असर पर्नुका साथै सुरक्षानिकायमाथि नै प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार ०८:३९

तपाईको प्रतिक्रिया !