आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे कांग्रेस संसदीय दलमा गहन छलफल

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे कांग्रेस संसदीय दलमा गहन छलफल
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १४, बुधबार १५:०९
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे कांग्रेस संसदीय दलमा गहन छलफल

जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको बैठक आज जनकपुरधामस्थित संसदीय दलको कार्यालयमा सम्पन्न भएको छ।

बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम र बजेट जनमुखी, समावेशी र विकासमुखी बनाउनुपर्नेमा जोड दिएको छ। संसदीय दलका नेता कृष्ण यादवको अध्यक्षतामा बसेको बैठकमा आगामी बजेटका प्राथमिकता र कार्यान्वयनका विषयमा गहन छलफल भएको कांग्रेसले जनाएको छ।

ADVERTISEMENT

बैठकपछि जानकारी दिँदै प्रदेश सभा सदस्य श्याम पटेलले प्रदेशको समग्र विकास र जनताको हितलाई केन्द्रमा राख्दै अधिकतम जनकल्याणकारी कार्यक्रमहरू आगामी बजेटमा समावेश गर्न दलले पहल गर्ने निर्णय गरिएको बताए। उनका अनुसार बैठकले बजेटमार्फत प्रदेशको आर्थिक विकास, पूर्वाधार निर्माण र सामाजिक समावेशीतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेको छ।

‘जनताको जीवनस्तरमा प्रत्यक्ष असर पार्ने खालका कार्यक्रमहरू ल्याउनुपर्नेमा बैठकको जोड थियो,’ पटेलले भने, ‘यो बजेटले मधेश प्रदेशको अनुहार फेर्ने गरी प्रभावकारी बन्नुपर्छ भन्ने हाम्रो धारणा छ।’

बैठकले प्रदेश सरकारको कार्यसम्पादन अझ चुस्त, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्नेमा पनि विशेष जोड दिएको छ। कांग्रेस संसदीय दलले प्रदेश सरकारलाई प्रभावकारी बनाउने दिशा निर्देश गर्न आवश्यक सुझाव र दबाब दिनुपर्ने निष्कर्ष निकालेको छ।

बैठकमा सहभागी नेताहरूले प्रदेशमा सुशासन प्रवर्द्धन गर्दै विकासका कामलाई तिव्रता दिन संसदीय दलले सक्रिय भूमिका खेल्नुपर्ने बताएका थिए। यसले जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी काम अघि बढाउने वातावरण निर्माण गर्ने विश्वास दलले व्यक्त गरेको छ।

आगामी बजेट अधिवेशनको पूर्वसन्ध्यामा बसेको यो बैठकले नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको रणनीति तय गर्नुका साथै सरकारसँगको समन्वयमा समेत निर्णायक भूमिका खेल्ने दलको भनाइ छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १४, बुधबार १५:०९

तपाईको प्रतिक्रिया !