प्रधानमन्त्री ओलीबाट एकमुष्ट शिलान्यास गराउने मन्त्री यादवको प्रयास असफल

प्रधानमन्त्री ओलीबाट एकमुष्ट शिलान्यास गराउने मन्त्री यादवको प्रयास असफल
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १२, सोमबार १०:२७
प्रधानमन्त्री ओलीबाट एकमुष्ट शिलान्यास गराउने मन्त्री यादवको प्रयास असफल

जनकपुरधाम : मधेश प्रदेशका ६४ वटा प्रदेश निर्वाचन क्षेत्रमा कालोपत्रे सडक शिलान्यास गर्ने कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट गराउने तयारी असफल भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई रिझाउन एकै दिन सबै सडकको शिलान्यास ओलीबाट गराउने योजना अघि सारेका थिए। तर प्रदेशका सांसदहरुले त्यसको विरोध गरेपछि योजना कार्यान्वयन हुन सकेन। सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा सडक शिलान्यास संयुक्त रूपमा गर्ने निर्णय गरेका छन्।

ADVERTISEMENT

प्रदेश सरकारले प्रत्येक आर्थिक वर्षमा हरेक निर्वाचन क्षेत्रमा कम्तीमा पाँच किलोमिटर सडक कालोपत्रे गर्ने नीति लिँदै आएको छ। चालु आर्थिक वर्षको अन्त्यमा सांसदहरु सडक शिलान्यासमा सक्रिय हुन थालेका छन्।

जनमत पार्टी संसदीय दलको आइतबार बसेको बैठकले सांसदहरुले आ–आफ्नो क्षेत्रमा संयुक्त रूपमा शिलान्यास गर्ने निर्णय गरेको हो। ‘सडक शिलान्यास कार्यक्रम संसदीय विकास क्षेत्रअन्तर्गत पर्छ। त्यसैले क्षेत्रीय सांसद र समानुपातिक सांसदहरुले संयुक्त रूपमा शिलान्यास गर्ने निर्णय गरेका छौं,’ जनमत पार्टी संसदीय दलका नेता तथा पूर्वमन्त्री महेशप्रसाद यादवले मधेशपत्रसँग भने।

मन्त्री सरोज यादवमाथि योजना बिक्री गरेको, योजना टुक्रयाएर आफ्नो पक्षको लाभमा ल्याएको लगायत गम्भीर आरोप लागेका छन्। यादवसहित खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवालमाथि समेत उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाहरुको अग्रिम कमिसन लिएर बिक्री गरेको आरोप लागिरहेको छ।

मन्त्री यादवले ओलीबाट एकमुष्ट शिलान्यास गराउने प्रस्ताव सर्वदलीय बैठकमा राखेका थिए। तर जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले अस्वीकार गरेपछि नेपाली कांग्रेस, जसपा नेपाल र माओवादी केन्द्रले समेत त्यसलाई समर्थन गरेनन्।

एमाले धनुषामा सम्पन्न पछिल्लो निर्वाचनमा मन्त्री यादवका कारण नेताहरुको उमाशंकर अरगडिया समूहलाई ठूलो धक्का लागेको एमालेका एक नेताले बताए। उनका अनुसार मन्त्री यादवले पार्टी नेताहरुले सिफारिस गरेका योजनाहरु समेत बिक्री गरेका कारण मतदाता असन्तुष्ट बनेका हुन्।

पार्टीभित्र मन्त्री यादवलाई पदमुक्त गर्न दबाब बढिरहेका बेला उनले प्रधानमन्त्री ओलीको समर्थन लिने उद्देश्यले शिलान्यासको प्रयास गरेका थिए।

जनमत पार्टीसहित विभिन्न दलले मन्त्री यादवको प्रस्ताव अस्वीकार गरेपछि अब प्रदेशभर सांसदहरुले आ–आफ्नै सुविधाअनुसार शिलान्यास कार्यक्रम अगाडि बढाउने भएका छन्। सडक कालोपत्रे कार्यक्रमलाई मन्त्री यादव र हालका मुख्यमन्त्री सिंहले निरन्तरता दिँदै आएका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार १०:२७

तपाईको प्रतिक्रिया !