गृहमन्त्रीको अनुहारमा पोतिएको कालो दाग केले मेट्ने ?

गृहमन्त्रीको अनुहारमा पोतिएको कालो दाग केले मेट्ने ?
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ९, शुक्रबार १८:२२
गृहमन्त्रीको अनुहारमा पोतिएको कालो दाग केले मेट्ने ?

काठमाडौं : आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयका कर्मचारीहरु नै मानव तस्करीजस्तो गम्भीर अपराधको सेटिङ मिलाउने काममा सक्रिय भएको सार्वजनिक भइरहँदा गृहमन्त्री रमेश लेखक भने यस विषयमा चुप छन्।

विमानस्थलका कर्मचारीले आफ्नै नाम लिएर पैसा उठाएको सार्वजनिक हुँदासमेत उनी यस विषयमा मौन छन्।

ADVERTISEMENT

गम्भीर विषयमा चुपचाप बसेका गृहमन्त्रीले मानव तस्करीको विषयमा केही बोलेका छैनन् तर जनकपुरमा गएर प्रदेशका कर्मचारीहरुलाई शान्ति सुरक्षाको विषयमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिएका छन्।

गृहमन्त्रीले प्रदेशका कर्मचारीलाई यस्तो निर्देशन दिइरहँदा मन्त्रालयमा दिनभर उनको छेउछाउमै बस्ने कर्मचारीलाई भने किन रोक्न सकेका छैनन् भन्ने प्रश्न उठेको छ । यसले गृहमन्त्रीको नियतमाथि नै शंका उब्जिएको छ।

गृहमन्त्री लेखकले आफूमाथि उठेको प्रश्नको जवाफ दिनुको साटो विवादित पृष्ठभूमि भएका भनिएका सामान्य कर्मचारीको शुक्रबार सरुवा गरेका छन्। जबकि विमास्थलमा हुने अनियमिततामा गृहमन्त्रीको संलग्नता भएको आरोप लाग्ने गरेको छ।

सचिवालयमा रहेका कर्मचारीहरू तथा स्वकीय सचिवालयमा रहेका व्यक्तिहरू नै भिजिट भिसाको सेटिङमा लागेको स्रोतको दाबी छ। अख्तियारले विमानस्थस्थित अध्यागमन कार्यालयमा छापा मारेर कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईसँग बयान लिइरहेको छ।

विवादित पृष्ठभूमिका सहसचिव भट्टराईलाई गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयको प्रमुख बनाएर पठाएका थिए। भूकम्पको बेला त्रिपाल काण्डमा समेत मुछिएका र रवि लामिछाने गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्रको विवादित ठेक्कामा परेका भट्टराईलाई मन्त्री लेखकले अध्यागमन कार्यालयको प्रमुख बनाएर पठाएका हुन्। तत्कालीन सचिव दिनेश भट्टराई मोरङको प्रमुख जिल्ला अधिकारीबाट हटाइएका थिए।

विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीको स्वीकृति पाएसँगै ट्राभल एजेन्सीहरु, मानव दलालहरु, एयरलाइन्सहरुको समेत मिलोमतोमा गरिब र बेरोजगार नेपालीलाई सम्पर्कमा ल्याइन्छ। महिलाहरुको लागि खाडीतिरबाटै सबै लगानी आउने भएकाले प्राथमिकतामा उनीहरु नै पर्छन्।

पुरुषहरु दलालको माध्यमबाट र आफैं पनि विदेशिन खोज्ने पनि हुन्छन्। कानूनका कमजोरीमा टेकेर पैसा असुल गरी उडाउने कार्यमा विदेशी एयरलाइन्सहरु अलजजिर, एयर अरेबिया, फ्लाई दुबई, कुबेत एयर, एयर इण्डिया, श्रीलंकन एयर, इण्डिगो एयरलाइन्सहरु प्रमुख छन्।

स्वदेशीमा नेपाल एयरलाइन्सले मुख्य भूमिका निर्वाह गरिरहेको छ । पर्यटकका रुपमा भएपनि कामका लागि उडाइन लागेकालाई प्रतिव्यक्ति ४ हजारदेखि १५ हजारसम्म असुली एयरलाइन्सहरुले एकतर्फी टिकट वा नक्कली दुईतर्फी टिकट दिएर उडाउने गरेका बताइएको छ।

श्रम स्वीकृति लिएर विदेशिन चाहने यात्रुहरुले भनेजति रकम नतिर्ने भएकाले एयरलाइन्सहरुको प्राथमिकतामा सेटिङका यात्रुहरु पर्ने गरेका छन्। उनीहरु पाएसम्म श्रम स्वीकृति लिएका यात्रुले टिकट नपाउने र पाएपनि अत्यधिक महँगो हुने भएकाले दैनिक हजारौं श्रमिकहरु भारतको बागदुरा, दरभंगा, लखनौ, गोरखपुर, पटना, कलकत्ता हुँदै विदेशिने गरेका पाइएको छ।

अलजजिराका नेपालमा रहेको मुख्य कार्यालयका कर्मचारी नै सेटिङमा संलग्न रहेको एक ट्राभल व्यवसायीले बताए। यता नेपाल एयरलाइन्सका कर्मचारीले अरु विदेशी एयरलाइन्सहरुसँग समन्वय गरी सेटिङका यात्रुहरुको टिकट र बोर्डिङ पासको लागि सहजकर्ताको भूमिका निर्वाह गर्ने गरेका पनि बुझिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार १८:२२

तपाईको प्रतिक्रिया !