सशस्त्र प्रहरीको ‘लिला’: भन्सार ब्यारियरभित्रैबाटै भारतीय सामान नियन्त्रण

सशस्त्र प्रहरीको ‘लिला’: भन्सार ब्यारियरभित्रैबाटै भारतीय सामान नियन्त्रण
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ८, बिहीबार ०८:३१
सशस्त्र प्रहरीको ‘लिला’: भन्सार ब्यारियरभित्रैबाटै भारतीय सामान नियन्त्रण

रौतहट : गौर भन्सार कार्यालयअन्तर्गत कार्यरत सशस्त्र प्रहरी बल (शप्र) ले भन्सार ब्यारियरभित्रैबाट भारतीय सामान नियन्त्रणमा लिँदै आएको खुलासा भएको छ। स्थानीय व्यवसायी र सर्वसाधारणले यसलाई राजस्व संकलनको नाममा शसस्त्र प्रहरीको ‘लिला’ भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

गौर भन्सारको मेन रोड, बैरगनिया बोर्डर नजिकैको क्रान्तिद्वार गेटअगाडि शस्त्र प्रहरीले भारतबाट आएका खाद्यान्न, हार्डवेयरलगायतका वैध सामानहरू बलपूर्वक नियन्त्रणमा लिने गरेको स्थानीयले बताए। यद्यपि, कानुनअनुसार भन्सार ब्यारियर पार गरेपछि मात्रै जाँच गर्न सकिने व्यवस्था छ।

ADVERTISEMENT

स्थानीय एक व्यवसायी भन्छन्, “सहायक नाकाहरू त खुल्ला छन् तर मेन नाकामै राजस्वको नाममा सामान पक्राउ गर्नु अन्याय हो। केही नाकाबाट दिनहुँ लाखौँको राजस्व छली भइरहँदा त्यहाँ खटिएका प्रहरी चुप छन्।”

गौर भन्सारको पूर्वपट्टि होमपाइप नाका र हरि सिंहको घरको बाटो हुँदै दर्जनौँ महिला तस्करीमा संलग्न देखिन्छन्। स्थानीयका अनुसार यी गतिविधि सशस्त्र प्रहरी नायव निरीक्षक मदन साहको निगरानीमा भइरहेका छन्।

स्रोतका अनुसार, मधेश प्रदेश शस्त्र प्रहरी प्रमुख डिआईजी कृष्ण ढकालले केही दिनअघि मात्रै भन्सार पोस्टको निरीक्षण गर्दै तस्करी नियन्त्रण गर्न निर्देशन दिएका थिए। तर, सो आदेश डिएसपी गहेन्द्र बहादुर भण्डारी नेतृत्वको टोलीले कार्यान्वयन नगरेको बताइएको छ।

त्यसैगरी, गौरको पूर्वी नाकाबाट राति ११ बजेपछि लाखौँ मूल्यको मदिरा तस्करी भइरहेको छ। रुपेश यादव, भोला साह, सुनिल यादव, भगल रायलगायतका व्यक्तिहरूको संलग्नतामा मदिरा भारततर्फ पठाइने र बेला–बेला भारतीय एसएसबी तथा बिहार प्रहरीले ती सामान नियन्त्रणमा लिने गरेको स्रोत बताउँछ।

गौरको पश्चिमी नाकाबाट पनि तस्करी बढ्दै गएको छ। मुकेश, अमरजित, सदरे, संजय, श्यामसहितका व्यक्तिहरूको सक्रियतामा मदिरा तथा अन्य सामान सीमापार गरिन्छ।

स्थानीय व्यापारीहरू भन्छन्, “मेन नाकामा नामका लागि मात्र कडाइ छ। वास्तविक कारोबार भने सहायक नाकाहरूबाटै हुँदै आएको छ, जहाँ प्रहरीकै मिलोमतोमा करोडौँको राजस्व छली भइरहेको छ।”

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार ०८:३१

तपाईको प्रतिक्रिया !