सशस्त्र प्रहरीको सेटिङ्गमा तस्करी धन्दा फस्टाउँदै, सर्वसाधारण पिडित

सशस्त्र प्रहरीको सेटिङ्गमा तस्करी धन्दा फस्टाउँदै, सर्वसाधारण पिडित
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ६, मंगलवार ०९:०३
सशस्त्र प्रहरीको सेटिङ्गमा तस्करी धन्दा फस्टाउँदै, सर्वसाधारण पिडित

रौतहट : पछिल्लो केही समयदेखि गौर भन्सार नाकामा ‘कडाइ’को नाममा देखावटी गतिविधिहरू बढेका छन्। आर्थिक मन्दीका कारण भारतको बैरगनियाबाट दैनिक उपभोग्य सामान किनेर ल्याउने सर्वसाधारणलाई सशस्त्र प्रहरीले बलजफ्ती भन्सार तिर्न बाध्य पार्दै आएको गुनासो बढ्दो छ। तर, अर्कोतर्फ, गौर भन्सारको मुख्यद्वारदेखि केही मिटर परबाट खुलेआम तस्करी भइरहे पनि त्यसप्रति सम्बन्धित निकाय मौन देखिएको छ।

स्थानीयको आरोप अनुसार, सशस्त्र प्रहरीले सर्वसाधारणसँग ड्युटी खर्चको नाममा अवैध रकम असुल्ने गरेका छन् भने तस्करहरूलाई भने पूर्ण छुट दिइन्छ। “यदि बैरगनियाबाट तस्करी हुँदैन भने भारतीय समान चपुरसम्म कसरी पुग्छ?” एक स्थानीयले प्रश्न उठाए।

ADVERTISEMENT

प्रत्येक टिपमा तस्करी हुने सामानबाट उठेको रकम विभिन्न निकायमा ‘सेटिङ’ अनुसार बाँडफाँट हुने गरेको आरोप समेत छ। केही दिनअघि गौर भन्सारमा क्वारेन्टाइन व्यवस्थापनको माग राख्दै शान्तिपूर्ण आन्दोलनसमेत भएको थियो। प्रमुख भन्सार अधिकारी र आन्दोलनरत पक्षबीच वार्ता भई व्यवस्थापन चाँडै हुने प्रतिबद्धता जनाइए पनि, हालसम्म सुधारको संकेत देखिएको छैन।

यसैबीच, विषादी मिसिएको फलफूल तथा तरकारीको तस्करी बढेको भन्दै स्थानीय चिन्तित छन्। भन्सार कर्मचारी स्वयंले १–२ दर्जन केरा घुसमा लिएर भन्सार नकटाई सामान छाड्ने गरेको खुलासा भएको छ। यता, सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीले खुलेआम तस्करी भइरहेको अवस्थामा नदेखेझैँ गर्ने तर भित्री क्षेत्रमा प्रवेश गरेपछि मात्रै कारबाही गर्ने गरेको जनगुनासो छ।

स्थानीय बासिन्दाले गौर भन्सार क्षेत्रको तस्करी नियन्त्रणका लागि देखावटी नभई प्रभावकारी निगरानी र पारदर्शिता सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ६, मंगलवार ०९:०३

तपाईको प्रतिक्रिया !