जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पाँच लाख धरौटीमा रिहा

जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पाँच लाख धरौटीमा रिहा
जयनाथ पण्डित जयनाथ पण्डित २०८२ जेष्ठ ४, आईतवार २०:२९
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पाँच लाख धरौटीमा रिहा

काठमाडौं : जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आधारमा उनले धरौटी बुझाएपछि रिहा गरिएको ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए।

ADVERTISEMENT

ठगीको आरोपमा यादवलाई प्रहरीले ७ वैशाखमा सप्तरीबाट पक्राउ गरेको थियो। जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले दिएको जाहेरीका आधारमा सुरेन्द्रनारायण यादव र उनकी पत्नी ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने मागसहित मुद्दा दायर गरिएको हो।

पार्टीभित्रको यो विवाद ललितपुरको इमाडोलस्थित एक घरको खरिद प्रक्रियाबाट सुरु भएको देखिन्छ। महालक्ष्मी नगरपालिका–४, इमाडोलस्थित कित्ता नम्बर ९४३ मा रहेको १४३.१२ वर्गमिटर (साढे चार आना) क्षेत्रफलको तीनतले, आठ कोठे घर खरिदमा भएको लेनदेनलाई लिएर विवाद चुलिएको हो। सो जग्गा शिवा आलेको नाममा रहेको बताइएको छ।

पार्टी सचिवालयको निर्णयमा उक्त घर खरिदको जिम्मा कोषाध्यक्ष यादवलाई दिइएको र त्यसअनुसार रकम उपलब्ध गराइएको पार्टी नेताहरूले बताएका छन्। तर यादवले भने उक्त रकम चुनावका बेला लिएको र पछि फिर्ता गरिसकेको दाबी गरेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ४, आईतवार २०:२९

तपाईको प्रतिक्रिया !