मिथिला नगरपालिकामा चार दिनदेखि तालाबन्दी, उपप्रमुखसहित २७ जनप्रतिनिधिको विरोध

मिथिला नगरपालिकामा चार दिनदेखि तालाबन्दी, उपप्रमुखसहित २७ जनप्रतिनिधिको विरोध
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ४, आईतवार ०६:००
मिथिला नगरपालिकामा चार दिनदेखि तालाबन्दी, उपप्रमुखसहित २७ जनप्रतिनिधिको विरोध

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिकामा गत बिहीबारदेखि तालाबन्दी गरिएको छ। नगर प्रमुख महेन्द्र महतोले एकलौटी शासन गरेको भन्दै उपप्रमुख सुनिता सिंह बुढाथोकीसहित २७ जना जनप्रतिनिधिले कार्यालयमा तालाबन्दी गरेका हुन्।

उपप्रमुख बुढाथोकीका अनुसार नगर प्रमुखले आफ्नै योजना मात्र अघि बढाउँदै आएका छन्। अन्य वडाहरु तथा जनप्रतिनिधिहरूद्वारा प्रस्तावित योजनाहरूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाउँदै तालाबन्दी गरिएको हो।

ADVERTISEMENT

‘नगर प्रमुखले बहुमत जनप्रतिनिधिको आवाजलाई बेवास्ता गरेर घर परिवार चलाएजस्तै नगर चलाउन खोजेको छ’, उपप्रमुख बुढाथोकीले मधेशपत्रसँग भनिन्, ‘कुनै समन्वय नगरी एकलौटी ढंगले काम भइरहेको छ।’

तालाबन्दीमा सहभागी जनप्रतिनिधिमध्ये ५ जना वडाध्यक्ष, १२ जना कार्यपालिका सदस्य, ९ जना वडा सदस्य र उपप्रमुख छन्। उनीहरूले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई योजना सञ्चालन रोकिएको विषयमा मौखिक तथा लिखित रुपमा सोधपुछ गर्दा समेत चित्त बुझ्दो जवाफ नपाएको बताएका छन्।

‘बजेट नचल्न दिने, योजना पास नगर्ने, जनप्रतिनिधिसँग परामर्श नगर्ने कार्यशैलीले गर्दा हामी बाध्य भएर तालाबन्दी गरेका हौं’, बुढाथोकीले भनिन्।

उनले आर्थिक वर्षको १० महिना बितिसक्दा पनि नगर प्रमुख जनप्रतिनिधि तथा जनताको आवाजप्रति संवेदनशील नभएको आरोप लगाइन्। कांग्रेस बाहेकका जनप्रतिनिधिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। साथै, चालु आव २०८०/८१ को नगरसभा कानुनविपरीत सञ्चालन गरिएको भन्दै उनी सर्वोच्च अदालतसमक्ष मुद्दा दायर गरिसकेको जानकारी दिइन्।

उक्त मुद्दा फिर्ता नलिएपछि नगर प्रमुखले कार्यसम्पादनमा बाधा पुर्‍याएको उपप्रमुख बुढाथोकीको आरोप छ।

नगर प्रमुख महेन्द्र महतोले भने तालाबन्दीबारे अनौपचारिक रुपमा मात्र थाहा पाएको प्रतिक्रिया दिएका छन्। ‘कसले के कारणले योजना सञ्चालन गर्न नपाएको भन्ने कुरा कार्यपालिका सबैलाई थाहा भएकाले मिडियामा बोलेर कुनै औचित्य देख्दिन’, उनले भने।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ४, आईतवार ०६:००

तपाईको प्रतिक्रिया !