वाटरपार्कमा तोडफोड : विद्यार्थी र व्यवस्थापनबीच झडप, अश्रुग्यास प्रहार र १० जना नियन्त्रणमा

वाटरपार्कमा तोडफोड : विद्यार्थी र व्यवस्थापनबीच झडप, अश्रुग्यास प्रहार र १० जना नियन्त्रणमा
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ जेष्ठ ३, शनिबार १६:३५
वाटरपार्कमा तोडफोड : विद्यार्थी र व्यवस्थापनबीच झडप, अश्रुग्यास प्रहार र १० जना नियन्त्रणमा

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित एक वाटरपार्कमा शनिबार बिहान विद्यार्थी र पार्क व्यवस्थापनबीच झडप भएको छ।

‘विशेष छुट’ को नाममा अत्यधिक संख्यामा विद्यार्थी बोलाइए पनि प्रवेश नपाएपछि आक्रोशित विद्यार्थीहरूले पार्कमा तोडफोड गरेका हुन्। स्थिति नियन्त्रणमा लिन पुगेका प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै १० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ADVERTISEMENT

कृष्ण फाउन्डेशन नामक संस्थाले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी वाटरल्याण्ड पार्कसँग समन्वय गरेर टिकट बिक्री गरेको थियो। सामान्यतया ९५० रुपैयाँ पर्ने टिकट १०० रुपैयाँमा ई–सेवामार्फत बिक्री गरिएको थियो। सस्तो टिकट पाएपछि शनिबार बिहानै पार्कमा ठूलो संख्यामा विद्यार्थी पुगेका थिए।

तर, पार्कको क्षमता भन्दा धेरै विद्यार्थी आएका कारण व्यवस्थापन पक्षले प्रवेशमा रोक लगाएपछि विवाद सुरु भएको हो। विवादका क्रममा पार्कका कर्मचारीले विद्यार्थीमाथि हातपात गरेको आरोपपछि विद्यार्थी आक्रोशित बनेर तोडफोडमा उत्रिएका थिए।

प्रहरी निरीक्षक सञ्जीवकुमार यादवका अनुसार स्थिति नियन्त्रणमा लिन गएका प्रहरीमाथि ढुंगामुढा भएपछि अश्रुग्यास प्रहार गरिएको हो। झडपमा ढुंगामुढाबाट पाँच जना प्रहरी सामान्य घाइते भएका छन्।

पार्क व्यवस्थापक अभिषेक गोयन्काले कृष्ण फाउन्डेशनले शैक्षिक संस्थाको प्रचारप्रसारका लागि बिहान ९ देखि ११ बजेसम्मका लागि पार्क लिएको जानकारी दिए। ‘पार्कको क्षमता एक हजारदेखि १५ सय जनासम्मको हो, तर उहाँहरूले दुई हजारभन्दा बढी विद्यार्थी ल्याउनु भयो,’ गोयन्काले भने, ‘संख्या बढी भएका कारण व्यवस्थापनमा समस्या आयो र स्थिति बिग्रियो।’

विद्यार्थीहरूले गेट, लाइट र सजावटका सामग्री तोडफोड गर्दा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

कृष्ण फाउन्डेशनले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई आफूले भनेको कलेजमा भर्ना गराउने उद्देश्यले एक हप्ताअघिदेखि नै वाटरपार्कमा भेला पार्ने योजना बनाएको थियो। सस्तो टिकटमा मनोरञ्जन पाइने लोभमा अपेक्षाभन्दा धेरै विद्यार्थी उपस्थित हुँदा अप्रिय घटना भएको हो।

प्रहरीले घटनामा संलग्न आशंकामा नियन्त्रणमा लिइएका १० जनासँग सोधपुछ जारी राखेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार १६:३५
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !