कमला नगरपालिकामा विशेष नगरसभा सम्पन्न

कमला नगरपालिकामा विशेष नगरसभा सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३, शनिबार १४:००
कमला नगरपालिकामा विशेष नगरसभा सम्पन्न

जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा शुक्रबार विशेष नगरसभा सम्पन्न भएको छ। नगर प्रमुख विशेश्वर यादवको अध्यक्षतामा आयोजित विशेष नगरसभाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १७ महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

नगरसभाबाट चालु आर्थिक वर्षको बाँकी दुई महिनालाई लक्ष्य गर्दै विभिन्न योजना, बजेट संशोधन तथा कर्मचारी व्यवस्थापन सम्बन्धी निर्णयहरू लिइएका छन्। नगरपालिकाले आठौं नगरसभाबाट विनियोजित बजेटमा आवश्यक थप/घट र संशोधन गर्दै, अनुसूची–१ अनुसार विनियोजन ऐन २०८१/८२ तथा स्थानीय सरकार सञ्चालन ऐनको परिधिमा रही विभिन्न शाखा, वडा कार्यालय र नगर स्तरीय योजनाहरूमा रकमान्तर गर्ने निर्णय गरेको हो।

ADVERTISEMENT

त्यस्तै, नगर कार्यपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूको संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षण अनुसार कर्मचारी दरबन्दी स्वीकृत गरिएको छ।

नगरपालिकामा संघीय सरकारले हस्तान्तरण गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेटबाट अनुसूची–२ बमोजिमका कार्यक्रम कार्यान्वयन गरिने निर्णय पनि गरिएको छ।

सभाले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिकाको विगतमा भएका निर्णयहरू अनुमोदन गरेको छ। साथै, आर्थिक वर्ष २०८२/०८३ को लागि कर्मचारीको वार्षिक तलब प्रतिवेदन पारित गरिएको छ।

स्थानीय सेवा कर्मचारीहरूको तहवृद्धि कार्यविधि–२०८१ अनुसार भएका पदोन्नतिहरूलाई पनि अनुमोदन गरिएको छ। पुँजीगत योजनाको कार्यान्वयनका लागि अधिकतम ३ प्रतिशत कन्टिन्जेन्सी रकम कटौती गरी आयोजनाप्रति खर्च गर्न कार्यालय प्रमुखलाई अधिकार प्रत्यायोजन गरिएको छ।

यस बाहेक, सिप विकास, जनचेतनामूलक तालिम, गोष्ठी तथा विविध तालिम कार्यक्रमहरू प्रदेश खर्च मापदण्ड निर्देशिका, २०८० अनुसार सञ्चालन गरिने निर्णय पनि भएको छ।

नगरपालिकामा कर्मचारी अभाव रहेकाले आवश्यकतानुसार करारमा सेवा लिनेसमेत निर्णय गरिएको छ। कार्यचाप अत्यधिक भएतापनि दक्ष जनशक्तिको अभावका कारण कार्यालय समय बाहिर समेत काम गर्नुपर्ने अवस्था रहेकाले, माघदेखि असारसम्म कर्मचारी कार्यसम्पादनको मूल्याङ्कनका आधारमा मासिक तलबको ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता प्रदान गरिने निर्णय नगरसभाबाट गरिएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार १४:००

तपाईको प्रतिक्रिया !