थानकोटमा ट्राफिक र जनपद प्रहरीबीच झडप, छानबिन सुरु

थानकोटमा ट्राफिक र जनपद प्रहरीबीच झडप, छानबिन सुरु
मधेशपत्र मधेशपत्र २०८२ बैशाख ३१, बुधबार १८:४६
थानकोटमा ट्राफिक र जनपद प्रहरीबीच झडप, छानबिन सुरु

काठमाडौं : थानकोटमा मंगलबार ट्राफिक प्रहरी र जनपद (सिभिल) प्रहरीबीच झडप भएको भिडियो सार्वजनिक भएपछि घटना विवादको केन्द्रमा परेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक ट्राफिक प्रहरी इन्स्पेक्टरले जनपद प्रहरीका सहायक हवल्दारलाई चड्कन हानेको दृश्य देखिन्छ।

प्रहरी स्रोतका अनुसार झडप नागढुंगामा खटिएको फिल्ड ड्युटीको क्रममा भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, भारतबाट आएका एक सवारीसाधनसँग पैसा मागिएको आशंकामा ट्राफिक इन्स्पेक्टर आक्रोशित बनेका थिए। उनीले जनपद प्रहरीलाई पैसा लिँदै गरेको देखेपछि विवाद चर्किएको बताइएको छ।

ADVERTISEMENT

घटनापछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख एसएसपी विनोद घिमिरेले प्रारम्भिक छानबिन सुरु गरिएको जानकारी दिएका छन्। उनका अनुसार, दुबै पक्षलाई कार्यालयमा बोलाएर बयान लिने प्रक्रिया अघि बढाइएको छ।

“गल्ती भए पनि कानुनी प्रक्रिया अनुसार अघि बढ्नुपर्छ, सडकमै हात हाल्नु स्वीकार्य छैन,” एसएसपी घिमिरेले भने। उनले सार्वजनिक भिडियोपछि तत्काल कदम चालिएको र दुबै पक्षलाई संयमित हुन निर्देशन दिइएको बताए।

भिडियोमा देखिएको प्रतिक्रिया ती इन्स्पेक्टरले सेवा निगरानीका क्रममा अनुचित कार्य देखेपछि भावनामा बगेर दिएका हुनसक्ने अनुमान गरिएको छ। तर, प्रहरी संगठनभित्र अनुशासन र संयमता कायम राख्नैपर्ने अपेक्षा गरिएको छ।

यस्ता घटनाले सुरक्षा निकायप्रति आमजनताको विश्वासमा नकारात्मक असर पार्न सक्ने भएकाले प्रहरी संगठनभित्र पारदर्शिता, स्वअनुशासन र पारस्परिक सम्मान झनै मजबुत बनाउन आवश्यक देखिन्छ।

प्रकाशित मिति: २०८२ बैशाख ३१, बुधबार १८:४६

तपाईको प्रतिक्रिया !