राजावादीलाई प्रधानमन्त्रीको प्रश्न : १५ चैतको हिंसाको आयोजक को हो ?

राजावादीलाई प्रधानमन्त्रीको प्रश्न : १५ चैतको हिंसाको आयोजक को हो ?
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २८, आईतवार १५:४२
राजावादीलाई प्रधानमन्त्रीको प्रश्न : १५ चैतको हिंसाको आयोजक को हो ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गत १५ चैतमा तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाको आयोजक को हो ? भन्दै राजावादीहरूसँग प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुँदा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले संविधानको धारा २७० ले दिएको फरक विचार राख्न पाउने अधिकारलाई सरकारलाई कुल्चिएको भन्दै संविधान ठूलो कि प्रधानमन्त्री भन्दै प्रश्न गरेका थिए ।

ADVERTISEMENT

उनको प्रश्नको संकेत राजावादी आन्दोलनमा सहभागी भएकाहरूलाई सरकारले पक्राउ गरेको प्रति लक्षित थियो । त्यसको जवाफमा प्रधानमन्त्रीले संविधानले अधिकार दिएकै कारण फरक विचार राख्नेहरू पनि संसद्मा रहेको भन्दै तीनकुने हिंसाको सन्दर्भ उठान गरेका थिए ।

१५ चैतमा राजावादीहरूले राजतन्त्र पुनस्र्थापनालगायतका माग राखेर तीनकुने क्षेत्रमा प्रदर्शन आयोजना गरेका थिए । प्रदर्शन हिंसात्मक हुँदा दुईजनाको ज्यान गएको थियो भने प्रदर्शनकारीले जुटबुटी उद्योग, निजी घरहरू, निजी तथा सरकारी सवारीसाधन र पार्टी कार्यालय जलाएका थिए ।

व्यापारीक प्रष्तिठानमा लुटपाट तथा सञ्चारमाध्यमहरूमाथि समेत आक्रमण भएको थियो । त्यस दिनको हिंसाको जिम्मा लिन अहिले कोही तयार नभएको भन्दै प्रधानमन्त्रीले सोधे, ‘जुडीबुटी उद्योगले दिक्क लागेर आत्मदाह गरेको हो ? त्यत्रा घर आफैं जलेका हुन् ? जडिबुटीको औषधी कारखानाले दिक्क लागेर आत्मदाह गरेको हो ? आह्वान कसले गरेको थियो चैत १५ गतेको ? त्यस बितण्डा (हिंसाको अर्थमा)को आयोजक को थियो ? अहिले कसैले जिम्मेवारी नै लिँदैन ।’

जति थोत्रो भए पनि विचार व्यक्त गर्न पाइन्छ भन्दै प्रधानमन्त्रीले तर त्यसका लागि हिंसाको सहारा लिन नपाइने बताए ।

‘अहिले कोही माइबाप नै निस्किँदैन । त्यस दिनको घटना जन्माउने को हो ? माता–पिता को हुन् ? पत्तो छैन अहिले त । तपाईं हो भन्दा म त होइन भन्छ, सबै निर्दोष छु भन्छन् । के ती घर आफैं दशा लागेर जले ? जडिबुटीको औषधि कारखाना दिक्क लागेर आत्मदाह गरेको हो त्यसले ?’

प्रकाशित मिति: २०८२ बैशाख २८, आईतवार १५:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !