लुम्बिनी प्रदेशमा जनमत पार्टीको लोकप्रियता चुलिँदै, संगठन विस्तारमा जोड

लुम्बिनी प्रदेशमा जनमत पार्टीको लोकप्रियता चुलिँदै, संगठन विस्तारमा जोड
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २३, मंगलवार ०८:०६
लुम्बिनी प्रदेशमा जनमत पार्टीको लोकप्रियता चुलिँदै, संगठन विस्तारमा जोड

नवलपरासी : जनमत पार्टीले लुम्बिनी प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्दै गएको छ। पार्टी अध्यक्ष डा. सीके राउतको नेतृत्वमा हालै पश्चिम नवलपरासीको परासीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

परासीको पाल्ही बहुमुखी क्याम्पसमा सम्पन्न उक्त कार्यक्रममा डा. राउतले स्थानीय नेताकार्यकर्ताहरुलाई पार्टीको नीति, कार्यक्रम र भावी रणनीतिबारे जानकारी गराउँदै जनस्तरमा एकताको सन्देश फैलाउन आग्रह गरे।

उनले मधेसी समुदायलाई अझैसम्म संविधान र व्यवस्थाले समावेश नगरेको भन्दै जनसंवेदनशील विषयमा आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव बालगोविन्द चौधरी, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सिके गुप्ता, प्रदेश सदस्य सन्तोष गिरी, जिल्ला उपाध्यक्ष कन्हैया चौधरी, तथा विद्यार्थी नेता ब्रिजनन्दन कुर्मीले सम्बोधन गरे। उनीहरूले पार्टीको संगठन विस्तार, जनताको सरोकारका मुद्दा, युवा सहभागिता, शिक्षा र रोजगारीका विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिए।

संगठन विस्तारमा रणनीतिक अभियान

प्रदेश सदस्य सन्तोष गिरीका अनुसार पार्टीले आगामी केही महिनाभित्र लुम्बिनीका सबै जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार गर्ने लक्ष्य लिएको छ। “स्थानीयस्तरमा जनमत पार्टीको सशक्त उपस्थिति बनाउने योजनाअनुसार प्रशिक्षण, अन्तरक्रिया र जनसंवाद कार्यक्रमहरु निरन्तर भइरहेका छन्,” गिरीले बताए।

युवा र महिलाको उत्साहजनक सहभागिता

कार्यक्रममा युवा तथा महिलाको उल्लेखनीय उपस्थिति देखिएको थियो। विद्यार्थी संगठनका नेताहरुले शिक्षामा पहुँच, बेरोजगारी, तथा महिला सशक्तीकरणका विषयमा समेत आवाज उठाएका थिए। अध्यक्ष डा. राउतले पार्टीमा युवाको बढ्दो सहभागिता प्रसंशनीय रहेको भन्दै भविष्यको नेतृत्व युवाले सम्हाल्नुपर्ने धारणा राखे।

समान अधिकार र संविधान संशोधनमा जोड

डा. राउतले मधेसी, थारू, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न संविधान संशोधन अपरिहार्य भएको बताए। “संविधान संशोधनको विषयमा दलहरूले बोल्ने गर्छन् तर काम गर्दैनन्, अब जनता आफैं जाग्नुपर्छ,” उनले भने।

प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार ०८:०६

तपाईको प्रतिक्रिया !