संसदमा प्रधानमन्त्री ओली र प्रचण्डबीच खासखुस

संसदमा प्रधानमन्त्री ओली र प्रचण्डबीच खासखुस
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २२, सोमबार १६:५०
संसदमा प्रधानमन्त्री ओली र प्रचण्डबीच खासखुस

काठमाडौं : प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । सरकारले १९ वैशाखमा आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेसँगै कार्यक्रममाथि छलफल सुरु भएको हो ।

प्रधानमन्त्री ओली रोस्ट्रमबाट आफ्नो आसनमा फर्किने र प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोस्ट्रममा जाने क्रममा जम्काभेट भएको थियो । त्यही क्रममा प्रधानमन्त्री ओली र प्रचण्डबीच केहीबेर खासखुस भयो । सो क्रममा प्रधानमन्त्री ओलीले हातले इशारा गर्दै प्रचण्डलाई मञ्च देखाइरहेको जस्तो देखिन्थ्यो ।

साथै, प्रचण्डले पनि प्रधानमन्त्री ओलीको कुरामा सहमति जनाएजसरी मुन्टो हल्लाएको जस्तो दृश्य देखिन्थ्यो । त्यसपछि प्रचण्ड मुस्कानसहित रोस्ट्रमतिर र प्रधानमन्त्री ओली आफ्नो आसनतर्फ अघि बढेका थिए ।

अघिल्लो वर्षको असारमा सरकार परिवर्तनपछि प्रधानमन्त्री ओली र विपक्षी दलका नेता प्रचण्डबीचको सम्बन्ध सुमधुर छैन । राजनीतिक भेटघाटबाहेक खासै नभेट्ने ओली-प्रचण्ड पछिल्ला केही दिनदेखि आपसी भेटघाट गरिरहेका छन् । आइतबार साँझ मात्रै ओली र प्रचण्डबीच भेटघाट भएको थियो । संक्रमणकालीन न्यायको विषयमा उनीहरूबीच उक्त भेटमा कुराकानी भएको थियो ।

प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार १६:५०

तपाईको प्रतिक्रिया !