श्रीमतीमाथि कुटपिटको आरोप झूटो र नियोजित : इन्चार्ज मण्डल

श्रीमतीमाथि कुटपिटको आरोप झूटो र नियोजित : इन्चार्ज मण्डल
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २२, सोमबार १५:५७
श्रीमतीमाथि कुटपिटको आरोप झूटो र नियोजित : इन्चार्ज मण्डल

जनकपुरधाम : जनमत पार्टी धनुषाका इन्चार्ज सुरेन्द्र मण्डलले आफूले श्रीमतीमाथि कुटपिट गरेको आरोप निराधार भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा श्रीमती मंजु मण्डलमाथिको कुटपिटसम्बन्धी भिडियो तथा विवरणहरू भाइरल भइरहेका बेला इन्चार्ज मण्डलले ती सबै आरोपहरू आधारहीन र पूर्वनियोजित भएको बताएका छन् ।

संचारकर्मीसंग कुराकानी गर्दै इन्चार्ज मण्डलले आफ्नो श्रीमती मंजु मण्डलसँग विगत ९ महिनादेखि सम्बन्धविच्छेदको मुद्दा अदालतमा विचाराधीन रहेको र त्यो अब अन्तिम चरणमा पुगेको बताए । “हामी अलग बसिरहेका छौं, यस्तो अवस्थामा मैले कसरी कुटपिट गर्न सक्छु?” उनले भने ।

मण्डलका अनुसार आइतबार राति करिब ८ बजे, तीन वटा स्कुटरमा आएका उनी सहित ६ जना महिला र अन्य करिब १५ जनाको समूहले जनकपुरधामको बेला कुटीस्थित उनको घरमा जबरजस्ती प्रवेश गर्ने प्रयास गरेका थिए । “घरमा लगाइएको ताला तोडफोड भयो, सीसी टिभीसमेत तोडिएको छ,” इन्चार्ज मण्डलले बताए ।

घटना भएपछि उनले जिरो माइल प्रहरी चौकीका असई आरके यादवको कमाण्डमा प्रहरी बोलाएर स्थिति नियन्त्रणमा लिएको बताए ।

श्रीमती मंजु मण्डलले देखाएको चोट र कुटपिटको आरोपबारे सुरेन्द्र मण्डलले आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन् । “मलाई थाहा भएको अनुसार उनी केहि दिन अगाडि सिरहाबाट  मोटरसाइकलमा आउँदै गर्दा दुर्घटनामा परेकी हुन्,” उनले भने, “त्यसबाट लागेको चोटलाई अब ममाथि कुटपिटको आरोप लगाउनु निहित स्वार्थप्रेरित हो ।”

मण्डलले आफूमाथिको आरोप झूटो प्रमाणित गर्नका लागि घरको सीसी टिभी फुटेज सार्वजनिक गर्ने तयारीमा रहेको बताए । “सत्यता छिप्दैन, भिडियो नै प्रमाण हो,” उनले जोड दिए ।

प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार १५:५७

तपाईको प्रतिक्रिया !