रेशम चौधरीको गिरफ्तारी : थारू–मधेशी मिलनमाथि षडयन्त्र ?

रेशम चौधरीको गिरफ्तारी : थारू–मधेशी मिलनमाथि षडयन्त्र ?
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १८, बिहीबार १८:२६
रेशम चौधरीको गिरफ्तारी : थारू–मधेशी मिलनमाथि षडयन्त्र ?

काठमाडौँ : वैशाख ११ गते बिहीबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फेसबुकमा लेखे – मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूस्ताहित गर्न होस्, कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस्, कि पार्टी फुटाइदिने षड्यन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च होस्, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गराइदिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन् ।’

अध्यक्ष डा. राउतको यस्तो स्टाटसको एक सातापछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परे । डा. राउतले नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता हुन नदिन षड्यन्त्र भइरहेको लेखेका थिए । साथै आफूलाई ज्यान मार्ने धम्की र रेशम चौधरीलाई पक्राउ गर्ने धम्की आइरहेको उनले खुलाएका थिए ।

पार्टी एकता घोषणाकै दिन चौधरी पक्राउ पर्नुले डा.राउतको अभिव्यक्ति पुष्टि भएको जनमतकै नेताहरू बताउँछन् । ‘रेशम चौधरी पक्राउ पर्नु सानोतिनो षड्यन्त्र होइन, यसलाई पार्टीले गम्भीर रूपमा लिएको छ,’ उपाध्यक्ष नरेन्द्र चौधरी भन्छन् ।

उनले ठुलै शक्ति केन्द्रले चौधरीलाई कर्मचारीमार्फत पक्राउ गर्न लगाएको उनको आरोप थियो । ‘यो चानचुनै कुरै होइन,’ उनी भन्छन्, ‘दुई दलबिच हुन लागेको एकता भाँड्ने प्रयास हो ।’

यो षडयन्त्रबारे पार्टीले गम्भीर रूपमा छलफल गरेको उनको भनाइ थियो । ‘हिजो (बुधबार) पनि पार्टीमा अनौपचारिक छलफल भयो, यो सानोतिनो षड्यन्त्र होइन, यसमा पार्टी सतर्क रहनुपर्छ भनी छलफल गर्‍यौँ,’ उनले भने ।

जनमत पार्टीका अध्यक्ष डा. राउत स्वयंले पनि चौधरीको पक्राउ एकता भाँड्नकै लागि भएको बताउँछन् । यो कर्मचारीको त्रुटि नभई कर्मचारी प्रयोग गरिएको उनको आरोप छ । ‘यो धेरैमाथिबाट भएको षडयन्त्र हो,’ उनले भने, ‘यसलाई पार्टीले गम्भीर रूपमा लिएको छ ।’ साथै छानबिन पनि गरिरहेको उनले बताए ।

पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले पनि यो घटनालाई राजनीतिक षडयन्त्रकै रूपमा देख्छन् । तर कहाँबाट कसले षडयन्त्र गरेको हो, त्यो भने भन्न नसकिने उनले बताए ।

‘तर दुईटा पार्टीबिच एकता नहोस् भनेर ठुलै षड्यन्त्र भएको पुष्टि भयो,’ उनले भने, ‘पत्र लेख्ने कर्मचारी पक्राउ परेका छन्, त्यसले दिने बयानबाट नै सबै कुरा बाहिर आउँछ ।’
सरकारले पनि यसमा गम्भीर भएर छानबिन गर्नुपर्ने उनको माग छ । दुई पार्टीबिचको एकतामा केही समय लाग्ने पनि उनले बताए ।

त्यसैगरी ,पार्टीका केन्द्रीय सदस्य विनोद यादव अध्यक्ष डा. राउतले फेसबुकमा लेखेको कुरा पुष्टि भएको बताउँछन् । ‘अध्यक्षज्युलाई यी सबै कुरा थाह थियो, पार्टी एकता हुन नदिन केही न केही षड्यन्त्र भइरहेको छ भने कुरा पार्टीमा पनि भन्नुहुन्थ्यो र फेसबुकमा पनि लेख्नुभयो,’ उनले भने, ‘आखिर अध्यक्षज्युले जे भन्नुभएको थियो, सत्य सावित भयो ।’

पार्टी एकता हुन नदिन यी सब भएको उनको पनि तर्क थियो ।

एकता घोषणाकै दिन चौधरी पक्राउ पर्नुलाई जनमतले मात्र होइन, नागरिक उन्मुक्ति पार्टीले पनि राजनीतिक षडयन्त्रका रूपमा ठानेको छ । हिजो (बुधबार) डिल्लीबजार करागारबाट रिहा भएपछि आफ्ना कार्यकर्ता तथा नेतासँग चौधरीले थारू र मधेशीलाई मिल्न नदिने षडयन्त्र गरिएको बताएका थिए । राज्यले नै आफूलाई पक्राउ गरेको र यरबो पार्टीले समीक्षा गर्ने उनले त्यहाँ भनेका थिए ।

चौधरी जेलमै हुँदा डा. राउतले पार्टी एकताका लागि प्रस्ताव गरेका थिए । दुई पार्टीबिच पार्टी एकता गर्ने कार्यगत एकता भने भएको थियो । चौधरीको रिहाइपछि एकताका लागि आन्तरिक छलफल भएको थियो ।

तर , नागरिक उन्मुक्तिको महाधिवेशनपछि पार्टीमा आन्तरिक विवाद उत्पन्न भयो । र एकता प्रयास सेलाएको थियो । तर डा. राउत र चौधरी आन्तरिक रूपमा पार्टी एकताका लागि लागिरहे ।

त्यसबिचमा केही अड्चनहरू भने नआएका होइनन् । तर यी सबैलाई चिर्दै दुई नेताले एकताको वातावरण बनाएका थिए । पार्टी एकता निश्चित भएपछि आफूहरूमाथि चौतर्फी प्रहार हुन थालेको डा .राउतले पार्टी सार्वजनिक मञ्चमा बताइरहेका थिए ।

यी दुई पार्टीबिच एकता भए सांसद संख्याका हिसाबले सबैभन्दा ठुलो मधेशवादी दल बन्ने पक्का छ । देशको पूर्वी भेगको नेतृत्व डा.राउतले गर्ने र पश्चिमको चौधरीले गर्ने उनीहरूबिच सहमति बनेको थियो ।

नेपालको राजनीतिमा ठुलो महत्व राख्ने मधेशी र थारू शक्ति मिलाउने प्रयास धेरै पहिलादेखि हुँदै आएको थियो । विगतमा उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुरले पनि पार्टी एकताको प्रयास नगरेका होइनन् । तर त्यही प्रयास भइरहेका वेला टीकापुर घटना भएको मधेश मामिलाका जानकार विजयकान्त कर्ण बताउँछन् ।

‘कैलालीको टीकापुरमा थारू र मधेशी एउटै मञ्चमा थिए । षडयन्त्रपूर्वक त्यो कार्यक्रमलाई बिथाल्ने काम भयो,’ कर्ण भन्छन्, ‘मधेशी र थारूलाई अलग गर्ने काम भयो ।’
त्यसपछि पनि पार्टी एकताका केही प्रयास भएका थिए । तर सफल हुन सकेन ।

पछिल्लो समय जनमत र नागरिक उन्मुक्तिको मिलन भाँड्ने प्रयास भएको ती दलका नेताहरूले दाबी गरिरहेका छन् ।

प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार १८:२६

तपाईको प्रतिक्रिया !