उर्जामन्त्री यादवको प्रशंसा योग्यकार्य : जेष्ठ नागरिकबाट गरायो शमशानघाटको शिलान्यास

उर्जामन्त्री यादवको प्रशंसा योग्यकार्य : जेष्ठ नागरिकबाट गरायो शमशानघाटको शिलान्यास
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १४, आईतवार १३:१४
उर्जामन्त्री यादवको प्रशंसा योग्यकार्य : जेष्ठ नागरिकबाट गरायो शमशानघाटको शिलान्यास

जनकपुरधाम : मन्त्री सहितका जनप्रतिनिधिहरु कुनै कार्यक्रमको प्रमुख अतिथि बन्न वा शिलान्यास र उद्घाटन गर्न मारामार गरिरहेका हुन्छन, त्यहाँ मधेश सरकारका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले एक शमशानघाटको शिलान्यास स्थानीय वृद्ध समाजसेवीबाट गराएर आफ्नो सहृदयता देखाएका छन् ।

आइतवार धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाको साकेतधाममा निर्माण हुने भनिएको शमशान घाटको उद्घाटन मन्त्री आफू प्रमुख अतिथि भएपनि त्यसको शिलान्यास सोही गाउँका स्थान वृद्ध समाजसेवी इन्द्रकान्त झाबाट गराएका छन् ।

शिलान्यास समारोहमा बोल्दै प्रमुख मन्त्री यादवले भने, “यो शमशान घाटको निर्माणले नगरवासीहरूलाई अन्त्येष्टि कार्यमा सहजता प्रदान गर्नेछ । यसले सामाजिक सद्भाव र स्वच्छता प्रवद्र्धनमा पनि योगदान पु¥याउने विश्वास लिएको छु ।”

जनप्रतिनिधिहरु शिलान्यास र उद्घाटन गर्न मारामार गरिरहेको अवस्थामा स्थानीयबाट शिलान्यास गराउनुको कारण बारे मन्त्री यादवले भने, ‘‘मन्त्री जनप्रतिनिधिको काम निती निर्माण र बजेट बनाउने हो न कि शिलान्यास वा उद्घाटन गर्ने । स्थानीय समाजसेवी र वृद्धबाट शिलान्यास गराउंदा स्थानीय जनताले हाम्रै सम्पति हो, हाम्रो काम हो भन्ने बोध गराउन स्थानीय समाजसेवीबाट गराएको हो ।’’

उनले थप्दै भने ‘‘यो म कुनै स्टन्ट होइन, स्थानीयको काम हो, स्थानीयकै संलग्नतामा हुनु परयो र स्थानीयलाई एउटा सम्मान समेत हो भन्ने उद्देश्य बोकेर जति पनि शिलान्यास कार्यक्रम हुन्छ स्थानीय समाजसेवी र वृद्धबाट नै गराउनेछु ।’’

यसअघि पनि क्षिरेश्वरनाथ नगरपालिकामा एक पावर ड्रिल ट्यूबेल र जनकपुरधाम उपमहानगर १३ कवर्डहल नजिक शौचालयको शिलान्यस त्यहाँका स्थानीय वृद्धसँग गराएका थिए । मन्त्री यादवले म मन्त्री रहेसम्म मेरो मन्त्रालयबाट संचालन हुने योजनामा यो क्रम जारी नै रहनेछ ।

दुधमति नदी किनारमा रहेको साकेतधाम नजिक ५० लाखको लागतमा सो शमशानघाट निर्माण हुन लागेको हो । वर्षात र हावाहुरीको बेला शवदाह गर्न निकै समस्या हुँदै आएकोमा अब यो शमशानघाट निर्माणपछि ती समस्या समाधान हुनेछ ।

उपमहानगरपालिकाको ५० लाख रुपैयाँको लागतमा निर्माण गरिने यस शमशान घाटमा विद्युतीय शवदाह प्रणाली, पर्खाल, छायाँयुक्त प्रतीक्षालय, शुद्ध पिउने पानीको सुविधा, शौचालय तथा पार्किङ क्षेत्र जस्ता सुविधाहरू उपलब्ध गराइने योजना रहेको छ । निर्माण कार्य आगामी ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष राजु साहले जानकारी दिएका छन् ।

वडाध्यक्ष साहको अध्यक्षतामा सम्पन्न सो शिलान्यास कार्यक्रममा सीमावर्ती वडा नम्बर १३ का अध्यक्ष जीतबहादुर राउत, स्थानीय भोगेन्द्र मण्डल, कांग्रेसका नेता घनश्याम यादव, कांग्रेस वडाध्यक्ष महेन्द्र महतो लगायत नेपाली कांग्रेसका दर्जनौ नेता कार्यकता तथा गाउँका स्थानीय भरभलादमीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार १३:१४

तपाईको प्रतिक्रिया !