आन्दोलनकारीले एमाले सचिव भट्टराईलाई शौचालयमा थुनेपछी..!

आन्दोलनकारीले एमाले सचिव भट्टराईलाई शौचालयमा थुनेपछी..!
मधेशपत्र मधेशपत्र २०८२ बैशाख ६, शनिबार २०:३३
आन्दोलनकारीले एमाले सचिव भट्टराईलाई शौचालयमा थुनेपछी..!

काठमाडौं : नेकपा (एमाले) का सचिव योगेश भट्टराईविरूद्ध ताप्लेजुङमा नाराबाजी भएको छ।

कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए।

ADVERTISEMENT

उनीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए।

कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा भट्टराईविरूद्ध ‘नो केबलकार समूह’ र ‘पहिचानवादी समूह’ले नाराबाजी गरेका थिए।

अपराह्नतिर कार्यक्रम सकिएपछि पर्यटनमन्त्री पाण्डे हेलिकप्टरतिर गइसकेका थिए। भट्टराई नजिकै रहेको कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए।

उनी शौचालयभित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए।

लगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो। भट्टराई शौचालय भित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएको थियो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले सुरक्षा मात्रै दिएको बताए।

‘हामीले सुरक्षा मात्र दिएका हौं। अरू केही होइन,’ उनले भने।

नाराबाजी भएपछि सुरक्षाकर्मीको संख्या बढाइएको थियो।

केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पुर्‍याएर काठमाडौं पठाएको थियो।

‘उहाँलाई सुरक्षित काठमाडौं पठाएका हौं। काठमाडौं पुगेपछि मलाई फोन गरेर उहाँले धन्यवाद पनि भन्नुभयो,’ डिएसपी रावलले भने।

पछिल्लो समय ताप्लेजुङको पाथीभरामा केवलकार बनाउने विषयमा विवाद उत्पन्न हुँदा भट्टराईले केवलकार बन्नुपर्ने विषयमा जोडदार वकालत गर्दै आएका छन्।

पाथीभरमा केवलकार बन्न नहुने भनेर आन्दोलन गर्दै आएका समूहले उनलाई प्रदेशमा निषेध गर्ने घोषणा नै गरेको थियो।

प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार २०:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !