एमाले विराटनगरमा विवाद: सापकोटाले दिए राजीनामा

एमाले विराटनगरमा विवाद: सापकोटाले दिए राजीनामा
मधेशपत्र मधेशपत्र २०८१ माघ ४, शुक्रबार १८:२१
एमाले विराटनगरमा विवाद: सापकोटाले दिए राजीनामा

विराटनगर : नेकपा एमाले विराटनगरको विवाद फेरि सतहमा आएको छ ।

एमाले विराटनगर कमिटीको पुस २९ गते बसेको बैठकले वडा नम्बर ३ सहित ५ वटा वडामा अधिवेशन गराउने गरी ३० दिनको म्याद दिएर नयाँ वडा कमिटी गठन गरेपछि फेरि विवाद सुरु भएको हो । एमाले विराटनगर कमिटीको बैठकले वडा नम्बर ३ का उपाध्यक्ष प्रकाश सापकोटालाई महानगर कमिटी सदस्यमा मनोनीत गरेको थियो ।

तर, उनले वडा कमिटी अध्यक्षलाई न्याय नभएसम्म कुनै पनि कमिटीमा नबस्ने भन्दै राजीनामा दिएको घोषणा गरेका छन् । सापकोटाले बिहीबार जारी गरेको राजीनामा पत्रमा वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई गरेको कारबाही फिर्ता नगरेसम्म पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने बताएका हुन् ।

नेकपा एमाले मोरङ जिल्ला कमिटीले तत्कालीन महानगर कमिटी अध्यक्ष सागर थापा, सहसचिव नवराज नेपाल टुप्पीसहित वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई खानेपानी आयोजनाको निर्वाचनको विषयलाई लिएर कारबाही गरेपछि देखिएको विवाद केही समय मत्थर हुन नपाउँदै फेरी बल्झिन थालेको हो ।

सापकोटाले सबैको साझा धारणा अनुसार पार्टी सदस्यका रूपमा बस्ने तर कुनै पनि पद अस्वीकार गर्ने जनाएका हुन् । एमाले स्रोतका अनुसार नव गठित वडा कमिटीका अधिकांश सदस्यहरूले समेत राजीनामाको तयारी गरिरहेका छन् ।

माथिल्लो तहमा रहेकाहरूलाई हतोत्साहित गर्ने गरी तल झारेको र पार्टीका अरू सङ्गठित सदस्यलाई समेत कमिटी सदस्यमा राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०८१ माघ ४, शुक्रबार १८:२१

तपाईको प्रतिक्रिया !