दुई वर्षमा बनिसक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

दुई वर्षमा बनिसक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन
मधेशपत्र मधेशपत्र २०८१ माघ ३, बिहीबार १४:४५
दुई वर्षमा बनिसक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन

रौतहट : रौतहटको गुजरा नगरपालिका–१ कोठियारमा रहेको लमाहा खोलामा निर्माणाधीन पुलको काम पाँचपटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन।

पुल निर्माणको ठेक्का श्री पप्पु/शिवशंकर जेभी गरुडा, रौतहटले लिएको थियो। चन्द्रपुर र गुजरा नगरपालिकालाई जोड्ने १२५ मिटर लामो प्रिस्ट्रेस आरसीसी पुल निर्माणको सम्झौता २०७३ सालको जेठ २ गते भएको थियो।

पुल निर्माणको म्याद २०७५ साल असोज १५ गतेसम्म राखिएको थियो। ठेकेदारको चरम लापरवाहीका कारण पुल निर्माण कार्य अझै पूरा भएको छैन।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी ई. शिवनारायणप्रसाद साहका अनुसार यो पुलको निर्माण कार्यलाई पाँचपटक म्याद थप गरिए पनि अबको म्यादसम्म पनि सम्पन्न हुने सम्भावना अझै अन्योल छ।

ठेकेदार कम्पनीले एकै समयमा ६ वटा पुल निर्माणको ठेक्का सँगै लिएर कार्यभार बढाएको थियो। जसका कारण पुल निर्माणमा ढिलाइ भएको हुन सक्ने अनुमान गरिएको हो।

पुल निर्माणको लागि मूल्य अभिवृद्धि कर सहित ९ करोड २२ लाख ७७ हजार ५५९ रुपैयाँको ठेक्का लागेको थियो। पुल निर्माणको काम हालसम्म ७० प्रतिशत मात्र सम्पन्न भएको सूचना अधिकारी साहले जानकारी दिए। डिभिजन सडक कार्यालयले ठेकेदारलाई अहिलेसम्म ५ करोड ४५ लाख ४५ हजार ८२८ रुपैयाँ भुक्तानी गरिसकेको साहले बताए।

समयमा पुल निर्माण नहुँदा स्थानीयले ठूलो सास्तीको सामना गरिरहेका छन्। कोठियारटोलका स्थानीय राजकुमार कटुवालले भने, ‘पुल बन्ने आशामा ८ वर्ष खेर गयो, अब त पुल बन्ने आशा मरिसक्यो।’

सिम्रा घर भएका सुनिल चौधरीले पनि गुनासो गर्दै भने, ‘पुल नबन्दा यहाँका सर्वसाधारणले सास्ती भोग्नु परेको छ। मोटरसाइकल र साइकल डोर्‍याएर हिँड्नुपर्ने बाध्यता छ।’

यहाँका किसानलाई रंगपुर र कोठियारबीचको बाटोबाट खेतबारी जानुपर्छ। यो पुल नबन्दा उनीहरूको यात्रा निकै कठिन बनेको छ। स्थानीय बासिन्दाले ठेकेदारलाई शीघ्र निर्माण सम्पन्न गर्न र ठेकेदारको लापर्वाहीको जिम्मेवारी तोक्न पनि माग गरेका छन्।

प्रकाशित मिति: २०८१ माघ ३, बिहीबार १४:४५

तपाईको प्रतिक्रिया !