दुबईमा मधेशी एकता समाजले मनाए दशैँ

दुबईमा मधेशी एकता समाजले मनाए दशैँ
मधेशपत्र मधेशपत्र २०८१ आश्विन ३०, बुधबार १८:३८
दुबईमा मधेशी एकता समाजले मनाए दशैँ

दुबई  : विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको ठूलो उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले उपस्थित सबैलाई धन्यवाद दिँदै विदेशमा मधेशी समुदायलाई एकताबद्ध गर्न मधेशी एकता समाजले गरेका प्रयासहरूको प्रशंसा गरे । एकता समाजका मुख्य संस्थापक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा. रविन्द्र कुमार यादवले मध्यपूर्व, जापान, अमेरिका, नेपाल र अन्य क्षेत्रमा संगठनको विस्तारबारे जानकारी दिए ।

ADVERTISEMENT

विदेशमा मधेशी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै डा. यादवले मधेशी समुदायको सेवा गर्न संगठनको प्रभाव र पहुँचलाई बढाइने धारणा राखे । जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत डा. कृष्ण यादवले नेपालमा मधेशी एकता समाजको विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । दुबईमा कार्यरत मधेशी मूलकी नर्स सुश्री नयनाले एकता समाजको हिस्सा बनेकोमा खुसी व्यक्त गर्दै संगठनले दुबईमा मधेशी श्रमिकहरूको सहयोगमा गरेको कामको प्रशंसा गरिन् । समाजका वर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबारले आफ्नो संस्कृति र परम्पराको उत्सव मनाउँदा ती महत्त्वपूर्ण चाडपर्वहरूले एक सुत्रमा बाँध्ने बताए ।

एकता समाजका संस्थापकमध्ये अनिल साह परिवारसहित अमेरिका जानुपर्ने भएकोले त्यस अवसरमा उनलाई बिदाई गरिएको थियो । सोही क्रममा साहले अमेरिकामा मधेशी एकता समाजलाई विस्तार गर्ने योजनाबारे जानकारी दिए ।

एकता समाजका महासचिव रोशन माक्र्सिस्टले सञ्चालन गरेको कार्यक्रममा नेपाली दूतावास अबुधाबीका तृतीय सचिवद्वय विमलेश कुमार मिश्र, विकास भट्टराई र अनुवादक रजी अहमदलगायतका व्यक्तित्वहरु सहभागी थिए । कार्यक्रममा उपस्थित सबैले स्वादिष्ट भोजनको आनन्द लिए भने एकआपसमा शुभकामना साटासाट पनि गरे । त्यस अवसरमा नयाँ वर्षको कार्यक्रम आउँदो जनवरी ५ मा आयोजना गर्ने घोषणा गरिएको थियो ।

प्रकाशित मिति: २०८१ आश्विन ३०, बुधबार १८:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !