एउटै टोल,एउटै जातका २२ डाक्टर

एउटै टोल,एउटै जातका २२ डाक्टर
मधेशपत्र मधेशपत्र २०८१ भाद्र १६, आईतवार २२:२८
एउटै टोल,एउटै जातका २२ डाक्टर

ब्रह्मदेव यादव
विराटनगर: मोरङको एउटै टोल, एउटै जातीका २२ जना डाक्टर भएका छन्।

बूढीगंगा गाउँपालिका-१ टंकीस्थित यादव टोलका २२ जनाले डाक्टरको उपाधी हासिल गरेर कार्यक्षेत्रमा कार्यरत छन् । ५ जनाभन्दा बढीले चिकित्साशास्त्रको अध्ययन गर्दै छन् । मोरङको किसान परिवारका एउटै टोल, एउटै जातीका २२ जना डाक्टर भइसकेको नेपालकै इतिहासमा यादव जातीले कायम गरेको नयाँ रेकर्ड पनि हो।

यादव टोलबाट डाक्टर भएका सबै खेतीपाती गर्ने किसानका छोराछोरी हुन् र सबैले खेतीयोग्य जग्गा बिक्री गरेर मेडिकलतर्फ एमबीबीएस र एमडीको अध्ययन पुरा गरेका हुन् । जसको लागि १ जनाले ५० लाखभन्दा बढी रकम खर्च गरेका छन् ।

टंकीका राजनीतिक तथा समाजसेवी बाबुप्रसाद यादवले आफ्ना तीनजना छोरालाई डाक्टर बनाउन ६ विगाहा खेतीयोग्य जग्गा बिक्री गरेको जानकारी गराए। यतिखेर टंकीमा जग्गा ३० लाख क‌ठ्ठाले बिक्री भइरहेको छ।

बाबुप्रसाद यादवका तीन छोरा डा. राजेश यादव, डा. रमेश यादव र डा. अनिल यादव मेडिकलतर्फ एमबीबीएस र एमडीको अध्ययन पुरा गरेर विभिन्न अस्पतालमा काम गरिरहेका छन्। यादवका माइलो छोरा डा. रमेश यादवका श्रीमती रञ्जना यादवपनि एमपीएसको अध्ययन पुरा गरेर स्वास्थ्य क्षेत्रमै कार्यरत छिन् ।

बाबुप्रसाद यादवका भाइ डा. शितलप्रसाद यादव डाक्टर छन्। डा. शितल टंकी स्थित यादव टोलका पहिलो मात्रै नभएर तत्कालिन टंकी गाविसबाट डाक्टर बन्ने पहिलो हुन् । डा. शितलका दुई छोरा डा. सुनिल यादव र डा. शुशिल यादवपनि डाक्टर छन्। दुवै बुहारी पनि डाक्टर छन् । बाबुप्रसाद मात्रै होइन, शम्भु यादवले खेतीयोग्य जग्गा बिक्री गरेर तीन छोरालाई डाक्टर बनाएका छन् ।

शम्भुका ३ छोरा डा. बाबुनन्दन यादव, डा. सुदन यादव र डा. रिकेश यादव विभिन्न अस्पतालमा काम गर्दै छन् ।

डाक्टर मुकेश यादव, डा. प्रभाकर यादव, डा. सुमन यादव, डा. विनिता यादव, डा. सुदर्शन यादव, डा. भवेश यादव, डा. सरोज यादव, डा. कुन्दन यादव, डा. रोहित यादवले एमबीबीएसको अध्ययन पुरा गर्न खेतीयोग्य जग्गा बिक्री गरेका थिए।

पूर्वप्रधानमन्त्री स्व. मातृकाप्रसाद कोइरालाले डा. शितललाई डाक्टर बनाउन सहयोग गरेको दाजु बाबुप्रसाद यादवले बताए।

डा. शितल पढाईमा कमजोर थियो। थर्ड डिभिजन एसएलसी र सेकेन्ड डिभिजन आइएस्सी उत्तीर्ण गरेका डा. सितललाई बिएस्सी पढाउन भारत बनारस पठाउने तयारी गरेका थिए।

बाबुप्रसादले मातृकाप्रसादसँग सहयोग लिए । कोइरालाले भारतीय दूतावासलाई लेखिदिएको चिट्ठी आधारमा डा. सितलले कोलकातास्थित एनपीएस मेडिकल कलेजबाट एमबीबीएस पढ्न पाए। पछि भारतको चन्डीगढस्थित पीजीआइ मेडिकल कलेजबाट एमडी उत्तीर्ण गरे।

बाबुप्रसादले भने, ‘पहिला डाक्टर पढाउन गाहो थियो तर अहिले सहज भएको छ, मैले ६ विगाहा जग्गा बेचेर ३ छोरालाई डाक्टर बनाए तर अहिले टंकीमा प्रति कठ्ठा जग्गा ४० लाखमा बिक्री भइरहेको हुनाले १ कठ्‌ठा बेच्दा डाक्टर पढाउन पुग्छ ।

पहिला विगाहा मास्नु पर्थ्यो तर अहिले कठ्‌ठामा नै डाक्टर हुन्छन् । जग्गा हुनेलाई छोराछोरीलाई डाक्टर इन्जिनियर बनाउन सजिलो छ।’

उद्योग संगठन मोरङका कार्यकारिणी सदस्य तथा फुजिमा आयल कम्पनी प्रा.लिका प्रबन्ध निर्देशक सुबोध कोइरालाले एउटै टोल र एउटै जातीबाट २२ भन्दा बढी डाक्टर भएको नेपालकै इतिहासमा टंकीले नयाँ रेकर्ड कायम गरेको प्रतिक्रिया दिए।

प्रकाशित मिति: २०८१ भाद्र १६, आईतवार २२:२८

तपाईको प्रतिक्रिया !