मधेश सरकारको नीति तर्जुमाका लागि दलित समुदायको अवस्थामाथि अन्तरसंवाद कार्यक्रम सम्पन्न

मधेश सरकारको नीति तर्जुमाका लागि दलित समुदायको अवस्थामाथि अन्तरसंवाद कार्यक्रम सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ पुष ९, बुधबार २१:४२
मधेश सरकारको नीति तर्जुमाका लागि दलित समुदायको अवस्थामाथि अन्तरसंवाद कार्यक्रम सम्पन्न

जनकपुरधाम : मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम तर्जुमाको सन्दर्भमा दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थासम्बन्धी राष्ट्रिय तथ्यांक-२०८७ माथि अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।

बुधबार जनकपुरधाममा दलित महिला संघ मधेश प्रदेशकी अध्यक्ष गीता दासको अध्यक्षतामा सम्पन्न उक्त अन्तरसंवाद कार्यक्रम मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

ADVERTISEMENT

कार्यक्रमको उद्देश्यबारे दलित महिला संघका कार्यक्रम म्यानेजर नरेश सोवले स्पष्ट पार्दै नीति निर्माण प्रक्रियामा दलित समुदायको वास्तविक अवस्था समेटिनु अत्यन्त आवश्यक रहेको बताए। उनले तथ्यांकमा आधारित छलफलले समावेशी नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने उल्लेख गरे।

कार्यक्रममा राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशकद्वय विनोद शरण आचार्य र राजन सिलवारले दलित महिला तथा गैरदलित महिलाको सामाजिक, आर्थिक र शैक्षिक अवस्थाबारे तथ्यांकसहितको प्रस्तुति दिएका थिए। उनीहरूले तथ्यांकले देखाएको असमानता र त्यसको समाधानका उपायबारे पनि धारणा राखेका थिए।

अन्तरसंवाद कार्यक्रममा इन्सेक मधेश प्रदेशका प्रदेश संयोजक राजु पासमान, मिडिया काउन्सिल मधेश प्रदेशका पूर्व कार्यवाहक अध्यक्ष कैलाश दास, दलित अधिकारकर्मी विनोद महरालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले दलित समुदायको अधिकार, अवसर र नीति निर्माणमा सहभागिताका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

कार्यक्रमले मधेश प्रदेशको नीति तथा कार्यक्रमलाई समावेशी, तथ्यांकमा आधारित र दलित समुदायमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको दलित महिला संघका धनुषा परियोजना संयोजक सिजेन्द्र सदाले जनाएका छन्।

प्रकाशित मिति: २०८२ पुष ९, बुधबार २१:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !