दशैँ खर्चका लागि माटो बेचेर जोहो

दशैँ खर्चका लागि माटो बेचेर जोहो
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ९, बिहीबार १०:४५
दशैँ खर्चका लागि माटो बेचेर जोहो

महोत्तरी : दशैँ नजिकिँदै गर्दा आर्थिक रूपमा कमजोर परिवारले माटो बेचेर पर्व खर्च जुटाउन थालेका छन्। वर्षभरि खर्च व्यवस्थापन गर्न कठिनाइ झेल्ने यी परिवारले नवरात्र सुरु भएपछि घर लिपपोत गर्न प्रयोग हुने विभिन्न रङका माटो संकलन गरी बिक्री गर्न थालेका हुन्।

दसैँ, तिहार र छठअघि घरलाई चिटिक्क बनाउन विभिन्न रङका माटोले पोत्ने परम्पराले यहाँका विपन्न परिवारलाई अतिरिक्त आम्दानीको अवसर दिएको छ। सामान्यतया खेत–खलिहानमा मजदुरी गरेर जीविका चलाउने श्रमिक अहिले माटो खोजेर बिक्रीमा व्यस्त छन्।

ADVERTISEMENT

दसैँमा सेतो (कमेरे), पहेँलो (चिम्टाइलो) र रातो माटोको बढी माग हुने भएकाले गाउँगाउँका परिवार यसैको खोजी र संकलनमा लागेका छन्। पहेँलो र सेतो माटो पोखरी, नदी किनार र पुराना खाल्डामा पाइन्छ भने रातो माटोका लागि चुरे क्षेत्रका थुम्कासम्म पुग्नुपर्ने भङ्गाहा–४ की हेमनी सदा मुसहर बताउँछिन्।

“हामीसँग पर्वका लागि साँचेर राखेको केही हुँदैन। दैनिक काम गरेर पेट पाल्छौँ। पवनी आउँदा माटो बेचेरै खर्च जुटाउनुपर्ने हुन्छ,” मुसहरले भनिन्। उनका अनुसार अहिले गाउँगाउँका महिला–पुरुष समूह बनाएर माटो खन्न, बोक्न र बेच्छन्।

ग्रामीण बस्तीका बाँसका चोया र कर्चीले बनेका घर वर्षेनी दशैँ, तिहार र छठअघि माटोले पोत्ने प्रचलन भएकाले यसबेला माटोको माग उच्च हुन्छ। यसै अवसरलाई श्रमिक परिवारले नगद आम्दानीको स्रोत बनाएका छन्।

भङ्गाहा–६ की पुर्नी महराले नवरात्र सुरु भएपछि मात्रै पाँच हजार रुपैयाँ बराबरको माटो बेचिसकेकी छन्। अझै केही दिन मेहनत गरे थप पाँच–सात हजार रुपैयाँ कमाउन सकिने उनले बताइन्। “दशहरा सुरु भएपछि घर पोत्न रङग्याउने काममा पनि महिला श्रमिकले बढी पारिश्रमिक पाउँछन्। यो पनि हाम्रो लागि अवसर बनेको छ,” उनले भनिन्।

महोत्तरीका भङ्गाहा, मेघरोल, मदनपट्टी, पर्सा, धरमपुर, भीमगढ, मझौलिया, बनरा, गोरहन्ना, निगौल, बिसरपुर, गौशाला, रजखोरबिर्ता र धनसपुरलगायतका थारु बस्तीमा अहिले माटो संकलन र बिक्रीको चहलपहल छ। थारु महिलाले घर पोत्ने, रङ लगाउने र माटो बेच्ने काममा व्यस्त देखिन्छन्। उनीहरू घर सरसफाइ र सजावटमा अगाडि देखिन्छन्।

थारु महिलाको सक्रियताले अन्य समुदायका विपन्न महिला पनि माटो संकलनमा सहभागी भएका छन्। “मेलामा रमाउन, नानीहरूको रहर पूरा गर्न र पर्व खर्च जुटाउन अहिले माटो जम्मा गरिरहेका छौँ। यो माटो तिहार र छठसम्म पनि बिक्री हुन्छ,” स्थानीय आसवती चौधरीले भनिन्।

मधेशका ग्रामीण क्षेत्रमा बाँसका कच्चीघर धेरै हुने भएकाले भित्तालाई लिपपोत गर्न माटो आवश्यक पर्छ। यही परम्पराले महिलालाई पर्वका बेला केही नगद कमाउने अवसर दिएको छ। तर पछिल्ला वर्षहरूमा पक्की घर निर्माण बढ्दै गएकाले यो काम विस्तारै घट्ने श्रमिक महिलाको बुझाइ छ।

प्रकाशित मिति: २०८२ आश्विन ९, बिहीबार १०:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !